रास्वपा सभापति लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्‍याइयो

मंसिर २४, २०८१ | काठमाडौं

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्‍याइएको छ ।

लामिछानेलाई पोखराबाट आज जहाजमा काठमाडौं ल्याइएपछि सिमरा पु¥याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले हिजो ४ दिनको म्याद थप गरेको थियो । यसैबीच, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले अदालतबाट दोषी ठहर नभएको व्यक्तिलाई सरकारले प्रतिशोधपूर्ण व्यवहारको गरेको भन्दै त्यसलाई रोक्न आज सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो । 


प्रतिक्रिया