अभद्र व्यवहार भएको कुरा गलत होः गृहमन्त्री लेखक

मंसिर २५, २०८१

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको दाबी गर्नुभएको छ । सुर्खेतमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार नभएको टिप्पणी गर्नुभयो । 

मन्त्री लेखकले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने प्रयास भएको उल्लेख गर्नुभयो । सहकारी रकमका विषयमा लामिछानेमाथि मात्र अनुसन्धान नभएको भन्दै उहाँले रकम अपचलन भएका विषयमा अन्य व्यक्ति माथि समेत अनुसन्धान भइरहेको जिकिर गर्नुभयो । 

मन्त्री लेखकले अनुसन्धान हुने क्रममा अदालत घेरेर विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको आरोप लगाउनुभयो । सडकमा हुल बाँधेर कसैलाई न्याय नमिल्ने भन्दै उहाँले अनुसन्धानमा प्रभाव पर्ने काम नगर्न रास्वपा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । 


प्रतिक्रिया