तराईका जिल्लामा छठ पर्वको तयारी सुरु

कार्तिक ३०, २०८० | काठमाडौं

तिहार सकिए लगत्तै तराई मधेशमा छठ पर्वको रौनक सुरु भएको छ । तराई, मधेशका जिल्लाका साथै पछिल्लो समय काठमाडौं उपत्यकामा समेत छठ पर्व धुमधामका साथ मनाउने गरिएको छ । 

छठ भोलिबाट सुरु हुने भएपछि नजिकैको नदी तथा ताल तलैया आजैबाट सिंगार्न थालिएको छ । छठका लागि जलाशय तथा घाटमा सरसफाइ तथा सजावटको काम सुरु भइसकेको छ । मधेश प्रदेशको राजधानी जनकपुर सहित सबै जिल्लाका स्थानीय हाट बजारमा छठको किनमेल गर्नेको घुईँचो लागेको छ ।

तराई मधेशमा छठलाई सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गरिन्छ । चार दिनसम्म मनाईने छठको पहिलो दिन भोलि शुक्रबार ब्रतालु नुहाएर चोखो हुन्छन् र ब्रत बस्ने संकल्प गर्छन् । यसलाई ‘नहा खाय’ भनिन्छ । 

दोस्रो दिन शनिबार उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेवलाई आह्वान गरिन्छ । त्यसलाई खरनाका रुपमा मनाउने गरिन्छ । तेस्रो दिन आइतबार विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ दिने चलन छ । अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन गरिन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाउने गरिन्छ । तराईका साथै काठमाडौं लगायत जिल्लामा पनि छठका लागि तयारी स्वरुप पोखरी तथा घाटहरुमा सरसफाई सुरु भईसकेको छ । छठ पर्व हेर्न देशका विभिन्न स्थानका साथै तेस्रो मुलुकबाट समेत पर्यटक जनकपुरधाम पुग्ने गरेका छन् ।


प्रतिक्रिया