कास्की र लमजुङमा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु

फाइल फोटो  

असार १२, २०८१ | काठमाडौं

कास्की र लमजुङमा पहिरोले घर पुर्दा ५ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ ।

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु भएको हो । मादी गाँउपालिका–५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको घरमा माटोको ढिस्को खसेर पुरिँदा उनकी छोरी १३ वर्षीया आयुष्माको मृत्यु भएको हो ।

त्यस्तै, पोखरा महानगरपालिका–२७ आरुपाटा बस्ने हरि सुनारका छोरा तीन वर्षीय अनमोलको पहिरोले पुरिएर मृत्यु भएको छ । उनकी श्रीमती २७ वर्षीय रितु सुनार गम्भीर घाइते भएकी छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरो घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, उनकी बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ९ वर्षिया इच्छा र ५ वर्षीया नम्रता निष्मा गुरुङको मृत्यु भएको हो ।

गएराति पहिरो आउँदा हराएका चारै जनाको शव आज अपरान्ह फेला परेको प्रहरीले जनाएको छ । घाइते भएका ३६ वर्षीय भीमबहादुर घलेलाई उपचारका लागि बेंसीसहर पठाइएको हाम्रा सहकर्मीले जनाएका छन् । लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनी सुनार गाउँमा पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको हो ।

दाजु मिलनसँगै सुतेका विकलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाजु मिलन पनि पहिरोमा परेर घाइते भएको प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो ।  


प्रतिक्रिया