बाढी, पहिरो र चट्याङबाट विभिन्न जिल्लामा १० जनाको मृत्यु

फाइल फोटो  

असार १५, २०८१ | काठमाडौं

बाढी, पहिरो र चट्याङका कारण पछिल्लो पटक विभिन्न जिल्लामा १० जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका ६ अर्जे, ठाँटी स्थित भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पहिरोले पुरेर ५५ वर्षीय भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, बुहारी २६ वर्षीया सीता, ७ वर्षीया सपना र ८ महिनाकी विपनाको मृत्यु भएको हो ।

बागलुङको गलकोटमा अविरल बर्षापछि आएको पहिरोले घर बगाउँदा ५५ वर्षीय प्रेमबहादुर बिक र उनकी ५० बर्षीया पत्नि बसन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान आएको पहिरोका कारण घरमा पुरिएको अबस्थामा दुवै जनाको शव भेटिएको वडा सदस्य लोकनाथ कंडेलले जानकारी दिनुभयो ।

घटनामा बिक परिवारकै बालबालिका शिशिर बिक र कुमारी बिक घाइते छन् । उनीहरुलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको छ ।यस्तै स्याङ्जाको फेदिखोला गाउँपालिका ५ बाँगेखड्केमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले घर पुँरिदा ३१ वर्षीया दुर्गा जीटी र ३ वर्षीया छोरी मिसिकाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले जानकारी दिनुभयो । उता दाङको राजपुर गाउँपालिका २ मा चट्याङ लागेर स्थानीय ३९ वर्षीया भुमिसरा बुढामगरको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला हिजो साँझ उनलाई चट्याङ लागेको थियो ।  


प्रतिक्रिया