इण्डियाले जित्यो आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि

असार १६, २०८१ | काठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौं संस्करणको उपाधि इण्डियाले जितेको छ । पूरा प्रतियोगितामा अपराजित रहँदै इण्डियाले दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि उचालेको हो । 

यसअघि इण्डियाले सन् २००७ मा पहिलो संस्करणको टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक टी–२० विश्वकपको फाइनल खेलेको हो । बार्बाडोसमा गएराति भएको फाइनलमा इण्डियाले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्‍यो ।

दक्षिण अफ्रिकाले पनि अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेपनि निर्णायक खेलमा पराजित हुन पुग्यो । जितका लागि १ सय ७७ रन पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । यस्तै, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाए । इण्डियाका लागि हार्दिक पाण्डियाले ३ विकेट लिए । अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा अक्षर पटेलले १ विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इण्डियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । इण्डियाका लागि विराट कोहलीले ७६ रनको अर्धशतकीय इनिङस् खेले । उनले ५९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । 

अक्षर पटेलले ३१ बलमा ४७ र शिवम दुबेले २७ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्जेले समान २–२ विकेट लिए भने मार्को जान्सेन र कागिसो राबाडाको नाममा समान १–१ विकेट रह्यो । 

यसअघि सन् २०१४ को फाइनलमा इण्डिया श्रीलंकासँग पराजित भएको थियो । अहिलेसम्म इण्डिया, इंग्ल्याण्ड र वेस्ट इन्डिजले २÷२ पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ भने पाकिस्तान, श्रीलंका, अस्ट्रेलियाले एक पटक उपाधि जितेका छन् ।


प्रतिक्रिया