विभिन्न कार्यक्रम गरी आज संसद् दिवस मनाइँदै

असार १६, २०८१ | काठमाडौं

संसद स्थापनाको स्मरण नेपालमा आज विभिन्न कार्यक्रम गरी संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । 

नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्श दातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् । 

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहाँ २०१७ पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

नेपालको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको ६ दशकभन्दा बढी भएको छ । नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका भने पाएका छैनन् । 

यसैबीच, सभामुख देवराज घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको बताउनु भएको छ । 

संसद दिवसको अवसरमा शुभकामना सन्देशी जारी गर्दै सभामुख घिमिरेले कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताउनुभयो । 

उहाँले लोकतन्त्रको प्रवर्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने पनि बताउनुभयो । लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनुपर्ने उहाँको भनाई छ ।

यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदको गरिमालाई अझ उँचो बनाउन र विधिको शासनप्रति इमान्दार रहन सबैले सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । 

संसद दिवसको अवसरमा शुभकामना दिँदै उहाँले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउन सके मात्रै संसद दिवस मनाउनुको सार्थकता हुने बताउनुभयो । 


प्रतिक्रिया