सूर्यदर्शन ठगी प्रकरणः थुनछेक बहस सुरु
पुस १६, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएपछि थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा पूर्व मन्त्री रवि लामिछाने तथा अन्य प्रतिवादी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान पश्चात थुनछेक बहस सुरु भएको हो । तीमध्ये आरती गुरुङको अन्तिम बयान हिजो नै सकिएको थियो । सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट बहस सुरु भएको हो ।
हिरासतमा रहेकामध्ये छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ भने मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको हकमा सहकारी ठगीमा मात्रै अभियोग बुझाइएको छ । यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । गत पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । २०८० असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हाल ६ जना पुर्पक्षमा कास्की कारागारमा थुनामा छन् । पुस ७ मा पूरक अभियोग लगिएका ४४ मध्ये हाल ७ जना कास्की हिरासतमा छन् भने अन्य सहकारी ठगीसँग जोडिएका ३ जना कास्की बाहिरका कारागारमा पुर्पक्षमा थुनामा छन् ।