पाथीभरा केबलकार विवादः विरोधमा रहेका समूहलाई वार्तामा आउन सरकारको आग्रह

फाल्गुन १८, २०८१ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले आन्दोलनरत समूहले उठाएका विषयप्रति सरकार गम्भीर रहेकाले वार्तामा आउन आह्वान गर्नुभएको हो ।

सम्वद्ध पक्षहरुसँग वार्ता गर्न गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता टोली गठन गरिएको छ । सो टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गर्दै पटकपटक संवाद पनि गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो । आन्दोलनरत पक्षले उठाएका सबै खाले समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि उहाँको भनाई छ ।

अर्को प्रसंगमा गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको बताउनुभयो । सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा अनुसन्धान जारी रहेको भन्दै उहाँले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।


प्रतिक्रिया