गणतन्त्रात्मक व्यवस्था विरुद्धको गतिविधिको प्रतिवाद गर्नुपर्ने समाजवादी मोर्चाको निष्कर्ष

चैत्र २, २०८१ | काठमाडौं
प्रतिपक्षी दलहरु संलग्न रहेको समाजवादी मोर्चाले गणतन्त्रात्मक व्यवस्था विरुद्ध भइरहेको राजतन्त्र पक्षधरहरुको गतिविधिको प्रतिवाद गर्न जरुरी रहेको जनाएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मलेन गर्दै मोर्चाले गणतन्त्रको रक्षा गर्न सबै दलहरु एक हुनुपर्ने निश्कर्ष निकालेको हो । समाजवादी मोर्चाले पछिल्लो समय देश र जनताको हित विपरीत राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको समेत आरोप लगाएको छ । संविधानले नगरिकमा सार्वभौम गरेको अधिकारलाई चुनौती दिन खोजिएको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभयो ।
समाजवादी मोर्चाले जनताको हित विपरीतका गलत क्रियाकलापले नागरिकमा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरु लागि परेको टिप्पणी गरेको छ । राजतन्त्रात्मक र गणतन्त्रतात्मक व्यवस्थालाई लिएर व्यापक बहस भइरहेका बेला समाजवादी मोर्चाका अर्का नेता एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वंशको शासनको विषय छोड्न आग्रह गर्नुभयो ।
यसैबीच फरक प्रसँगमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारले पछिल्लो पटक पूर्वविशिष्ट व्यक्तिहरुलाई सुविधा दिन भन्दै कानुन निर्माण गर्नुको औचित्य नभएको दाबी गर्नुभयो ।
नेपालको संविधान जारी भएको एक दशक हुनै लाग्दा यसबीचमा भएका कमीकमजोरी बारे समिक्षा गर्नका लागि विभिन्न दलहरुसँग आफूहरुले तयारी गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो ।