प्रधानमन्त्री ओली बैंकक प्रस्थान

चैत्र १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली बैंकक जानुभएको हो । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ भने दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारीपत्रमा हस्ताक्षर हुनेछ । पर्यटन र संस्कृति सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुने तयारी छ ।
यस्तै, थाइल्याण्डका प्रतिष्ठित व्यवसायीसँग छलफल गर्ने तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना छ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।