सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी, पटक पटकको झडपले अशान्त

चैत्र २३, २०८१ | काठमाडौं
बाल सुधार गृहमा पटक पटक झडप हुँदै आएका छन् । क्षमताभन्दा बढी संख्यामा बालबन्दीलाई राखिनु बाल सुधार गृहमा आउने समस्याको मुख्य कारण मानिएको छ । त्यसैले बालगृहलाई सुरक्षित रुपमा सञ्चालन गर्न विभिन्न उपाय अपनाउन सकिने सरोकारवालाले सुझाव दिएका छन् ।
मुलुकका विभिन्न स्थानमा गरी १० वटा बाल सुधार गृह स्थापना भएका छन् । तीमध्ये एउटा बाल सुधार गृह भने सञ्चालनमा छैन । अन्य प्रयोजनका लागि बनेका भवनहरु बाल सुधार गृहका लागि प्रयोग गरिएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३ वटा बाल सुधार गृह सञ्चालन भइरहेको छ ।
सबैभन्दा धेरै बालबन्दी रहेको बाँकेको जयन्दु बाल सुधार गृहमा पटक पटक झडपका घटना भएका छन् । त्यहाँ २ सय ५२ जना बालबन्दी बसिरहेका छन् । केही साता अघि होली खेल्ने विषयमा सो बालगृहमा झडप हुँदा २१ जना बालक र ३ जना सुरक्षाकर्मी घाइते भए । १८ वर्ष मुनिका बालबालिकालाई राख्ने भनिएपनि बढी उमेर समूहका वयस्कहरुलाई पनि राख्नु लगायत कारणले बाल सुधार गृहमा तनाव उत्पन्न भएको बताइन्छ ।
जयन्दु बाल सुधार गृहको अवस्थाबारे जानकारी दिँदै बाल सुधार गृहकी कार्यालय प्रमुख तथा मनोविमर्शकर्ता बिमला काउचा मगरले संख्यात्मक हिसाबले बालबन्धीहरु धेरै भएको र उमेर ग्याप पनि धेरै हुँदा झडपका घटना दोहोरिने गरेको बताईन् । ‘अन्य बाल गृहमा भन्दा जयन्दु बाल सुधार गृहमा संख्यात्मक हिसाबले बालबन्दीहरु धेरै भएको र उमेर ग्याप पनि धेरै हुँदा झडपका घटना दोहोरिन्छन्’, उनले भनिन् ‘१४ वर्षदेखि २६ वर्षसम्म उमेर पुगेका बालबन्दीहरु एकै ठाउँमा हुँदा ठूलाले सानालाई हेप्ने, कुटपिट गर्ने लगायतका घटनाहरु हुने गरेका छन् । र बन्दीलाई जुन खालको काउन्सलिङ हुनुपर्ने हो त्यो हुन सकेको छैन । राज्यले त्यो व्यवस्था गर्नतर्फ ध्यान दिएको पनि देखिँदैन् ।’
बालबालिका सम्बन्धी ऐनको दफा ४३ को ४ मा बालबालिकाको उमेर १८ वर्ष पुगेमा उनीहरुको बानी व्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षाको निरन्तरता लगायतलाई ध्यानमा राखी बाँकी अवधिसम्मका लागि बाल सुधार गृहमा अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्ने व्यवस्था गरीएको छ । तर, बारम्बार झडप भएपश्चात स्थान अभावका कारण अन्य कैदीबन्दीसँगै कारागारमा लगेर राखिएका उदाहरण पनि छन् ।
बाँकेकै नौवस्ता बाल सुधार गृहमा १ सय बालबन्दीलाई राखिएको छ । त्यस्तै रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा एक सय २ जना बाल बन्दी छन् । भक्तपुरको सानो ठिमीस्थित सुधार गृहमा २ सय ११ जना बालक र ३५ बालिका गरी २ सय ४६ जना छन् । कोशी प्रदेशको मोरङस्थित बाल सुुधार गृहमा २ सय ४९ जना बन्दी छन् । पर्सास्थित बाल सुुधार गृहमा १ सय २५ जना बाल बन्दीलाई राखिँदै आएको सरकारी तथ्यांक छ । मकवानपुरको हेटौंडास्थित बाल सुुधार गृहमा ६३, कास्कीको सराङकोटस्थित बालगृहमा १ सय १६ जना, डोटीको बाल सुुधार गृहमा ६३ जना बालबन्दी छन् ।
तनहुँमा रहेको बाल सुुधार गृह भने अहिले सञ्चालनमा छैन । सरकारी तथ्याङ्क अनुसार ती बालगृहमा १ हजार ३ सय १६ जना बाल बन्दी छन् । अहिलेसम्म कर्णाली प्रदेशमा भने बाल सुुधार गृह स्थापना भएको छैन । बाल सुधार गृहहरुको क्षमता भन्दा दोब्बर बढी बालबालिका राख्नुपर्ने अवस्था छ । त्यहाँ रहेका बालबालिकाले जबरजस्ती करणी, लागूऔषध, कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, अप्राकृतिक मैथुन, सवारी ज्यान, चोरी, सार्वजनिक अपराध, सरकारी छाप किर्ते आदि घटनामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका छन् ।
बाल गृहमा झडप किन हुने गरेको हो भन्ने प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुुमार आचार्यले क्षमता भन्दा दोब्बरको संख्यामा बालबन्दीहरु राख्नुपर्ने भएकाले बेलाबेलामा झडपका घटना हुने गरेको बताए । ‘पछिल्लो समयमा बालबन्दीहरुको उमेर ठूलो भईसकेको छ । जसका कारण आपसमा समूह बनाएर झडपको अवस्था सृर्जना हुने गरेको छ’, आचार्यले भने, ‘उमेर समूह छुट्टाएर राख्नुपर्ने अवस्था देखिन्छ । बालगृहको जति क्यापसिटी छ त्यसको दोब्बर बालबन्दीहरु भएका कारणले गर्दा पनि झडपको अवस्था सामान्य कुराबाटै उत्पन्न हुन्छ ।’
गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त व्यवस्थापन र सहयोगमा बाल सुधार गृहहरु सञ्चालन हुँदै आएका छन् । सम्बन्धित निकायबीच समन्वय प्रभावकारी नहुँदा बालगृहको अवस्था खस्किँदै गएको जानकारहरु बताउँछन् । त्यस्तै बालगृहमा बालमैत्री अवधारणा भन्दा पनि कारागार व्यवस्थापनको शैली हाबी भएको भन्दै आलोचना हुने गरेको छ ।
सृजनात्मक तथा रचनात्मक गतिविधि सञ्चालन नहुँदा पनि बालबन्दीबीच झड्प तथा मनमुटाव हुने अवस्था रहेको कतिपयले बताएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपलिका अन्तर्गत महिला बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख बिष्णुुकुुमारी लामिछानेले मनोपरामर्शका कार्यक्रम नहुँदा प्रायः बालगृहको अवस्था अशान्त बन्दै गएको बताईन् । ‘बालगृहमा रहेका बालबन्दीहरुलाई उचित खालको पालनपोषण व्यवहार, शिक्षाको व्यवस्था मिलाउन नसकेका कारणले र मनोपरामर्शका कार्यक्रम नहुँदा प्रायः बाल गृहको अवस्था अशान्त नै देखिन्छ ।’
फरक फरक स्वभाव र परिवेशबाट आएका बालबालिकाबीच सुधार गृहमा तनाव उत्पन्न हुने परिस्थितिलाई ध्यान दिनुपर्ने जानकारहरुको सुझाव छ । उनीहरुका अनुसार बालबन्दीकोे मनोभाव, आचरण र व्यवहारलाई मध्यनजर गर्दै सामूहिक तथा व्यक्तिगत रुपमा मनोपरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।