राजतन्त्र पुर्नस्थापनाको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

वैशाख ७, २०८२ | काठमाडौं
राजतन्त्र पुर्नस्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । संवैधानिक राजसंस्था सहितका विभिन्न माग राखी चरणबद्ध रुपमा प्रर्दशन गर्दैै आएको राप्रपाले काठमाडौंका निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादनको निर्णय अनुसार निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्ने तयारी भएको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाको आजको कार्यक्रमलाई राजावादी अन्य संघ संगठनले पनि सहयोग गर्ने जनाएका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने निषेधित क्षेत्र तोडर प्रर्दशनका गतिविधि भए कारबाही हुने जनाएको छ । प्रशासनले संसद भवन नयाँ बानेश्वर, सिंहदरबार, राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय लैनचौर, प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा ५ जना बढी भेला भई अनसन, जुलुस, प्रर्दशन, सभा लगायत कार्यक्रम गर्न निषेध गरेको छ ।