उखान–टुक्कासहितका सम्पदाको संरक्षण र प्रवद्धनका लागि कानून बनाउने सरकारको तयारी

जेष्ठ १०, २०८२

सरकारले उखान–टुक्कासहित अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्धनका लागि कानून बनाउने भएको छ । त्यसका लागि सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी विधेयक संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा दर्ता गरेको छ ।

 विधेयकमा उखान–टुक्का लगायत १२ किसिमका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदाको परिभाषामा पहिलो पुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखान–टुक्का, किंवदन्ती, मौखिक इतिहास वा यस्तै प्रकृतिका मौखिक परम्परा वा अभिव्यक्तिलाई उल्लेख गरिएको छ । त्यस्तै, अभिनय वा मञ्चन कला, सामाजिक अभ्यास, अनुष्ठान, जात्रा वा पर्व तथा प्राकृतिक स्रोतको उपयोग, उपचार पद्धति, ज्योतिष विज्ञान, खगोल विज्ञान, पर्यावरणीय ज्ञान लगायत विषयको संरक्षण गर्ने गरी कानून बनाउन लागिएको हो ।

विधेयकको प्रस्तावनामा भनिएको छ– “नेपालमा बसोबास गर्ने व्यक्ति, समूह वा समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अंगका रूपमा स्वीकार गरी परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षण र प्रवद्धन गर्ने वान्छनिय भएकाले कानून बनाउन लागिएको हो ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि दर्ता गर्नुभएको विधेयकमा अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूची तयार वा अद्यावधिक गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय सिफारिस समिति गठन हुने व्यवस्था गरिएको छ । 

त्यस्तै प्रत्येक वर्ष अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूची तयार गरी अभिलेखीकरण गर्ने र सार्वजनिक गर्नुपर्ने प्रावधान समेत विधेयकमा राखिएको छ । नेपालको संविधान र सन् २००३ को अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी युनेस्को महासन्धि कार्यान्वयन गर्न कानुनी आधार आवश्यक परेकाले विधेयक ल्याइएको मन्त्री पाण्डेको भनाइ छ ।


प्रतिक्रिया