अध्यागमन कार्यालय घटनामा नेतृत्वको कुनै संलग्नता छैनः गृह मन्त्रालय

जेष्ठ १०, २०८२ | काठमाडौं

गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ– “कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।

” विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य जानकारीमा आउने गृहमन्त्रालयको भनाइ छ । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको दावी समेत विज्ञप्तिमा गरिएको छ ।

 गलत काम भए राजनीतिमा देखा नपर्ने गृहमन्त्रीको दावी 

 यसैबीच, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे केही दिनभित्र विस्तृत रुपमा बोल्ने बताउनुभएको छ । धनुषामा पार्टी कार्यकर्तासँगको भेटमा बोल्दै गृहमन्त्री लेखकले भन्नुभयो– ‘दुईचार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रस्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ । यसमा आत्तिनुपर्ने कुनै कारण छैन ।” उहाँले आफूबाट गलत काम भए राजनीतिमा देखा नपर्ने दावी समेत गर्नुभयो ।  


प्रतिक्रिया