प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

जेष्ठ २०, २०८२ | काठमाडौं

प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्यवको वार्षिक अनुमानमाथि आजदेखि छलफल प्रारम्भ हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ । 

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

यस्तै, संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै ‘प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

यसैबीच, संसद्को अवरोध हटाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफल निष्कर्षविहीन बनेपछि आजको बैठक पनि प्रभावित हुने देखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो साँझ सिंहदरबारमा छलफल भएपनि आ–आफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो । 

माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्दै आएका छन् । भिजिट भिसामा विदेश जाने नेपालीबाट रकम असुल हुने गरेको प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारी संलग्न रहेको आरोप विपक्षी दलको छ । 

सो विषयमा गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि उहाँले राजीनामा दिनुपर्ने माग राखी विपक्षी दलले संसद् अवरोध गर्दै आइरहेका छन् । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर लाखौं असुल्दै आएको भन्दै विपक्षी दलले अनुसन्धानको माग गरेका हुन् ।

गृहमन्त्रीको राजीनामा नआए मंगलबारको बैठकमा पनि अवरोध जारी राख्ने तयारी विपक्षी दलको छ । प्रधानमन्त्री ओलीले भने गृहमन्त्रीले राजीनामा नगर्ने र संसद्मा विपक्षीको अवरोध भए पनि कारबाही अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।


प्रतिक्रिया