एमसीसीअन्तर्गतका परियोजनाको काम अघि बढ्दै, विद्युत प्रसारणलाइनका लागि आज ठेक्का सम्झौता हुने

श्रावण २९, २०८२
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ । एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनमध्येको दुई खण्ड निर्माणका लागि आज ठेक्का सम्झौता हुने एमसीए नेपालले जनाएको छ । नुवाकोटको रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता हुन लागेको हो । एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता हुन लागेको बताइएको छ । त्यस्तै, दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सलासार जेभीसँग सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा सम्झौता हुन लागेको एमसीएले जनाएको छ । यी परियोजना निर्माण भएपछि विद्युत् प्रसारणमा नेपालकालागि ठूलो फड्को हुनेछ ।