रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार

श्रावण २८, २०८२ | काठमाडौं

विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरण लगायत बिषय उठाउँदै प्रतिनिधिसभाको बैठक आज पनि बहिष्कार गरेका छन् । आफूहरुको माग सम्वोधन नभएको भन्दै ती दुई दलले बैठक बहिष्कारलाई निरन्तरता दिएका हुन् । बैठक बहिष्कार गर्नुअघि बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले भिजिट भिसा प्रकरण लगायत मुद्दामा जोडिएका मन्त्रीहरुबारे आफूहरुले उठाएको प्रश्न जवाफ संसदले पाउनुपर्ने बताउनुभयो ।

रास्वपाले भिजिट भिसा बाहेक नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणबारे संसदमा प्रश्न उठाएको छ । यता, राप्रपाले भिजिट भिसा प्रकरणबारे पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाएर छानविन गर्नुपर्ने माग राखेको छ ।

विपक्षी दलले बहिष्कार गरेपनि बैठक सञ्चालन गरिएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन गर्नुभयो । यसैबीच, सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा अघि बढाएको छ । 


प्रतिक्रिया