पर्यटन विभागका निर्देशक यादव विरुद्ध मुद्दा दायर

रेडियो कान्तिपुर संवाददाता

श्रावण २९, २०८२ | काठमाडौं

पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवलाई गैरकानूनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवविरुद्ध ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको जायजेथा पनि जफतको मागदाबी लिइएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

२०६६ जेठ २४ गते सेवा प्रवेश गरेका यादवको २०७९ साउन २९ सम्मको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा पारिएको थियो । सो जाँच अवधिमा २ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँबराबरको सम्पत्ति फेला परेकोमा सो अवधिको कुल खर्च तथा विभिन्न क्षेत्रमा गरेको लगानी ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ भेटिएपछि स्रोत नखुलेको बाँकी रकमलाई अख्तियारले बिगो कायम गरेको हो ।


प्रतिक्रिया