संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले कुण्ठा पोखेको रास्वपाको आरोप

श्रावण २९, २०८२ | काठमाडौं
लगातार प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदमा प्रधानमन्त्री केपी ओलीले पछिल्लो सम्वोधनका क्रममा कुण्ठा मात्र पोखेको टिप्पणी गरेको छ ।
प्रधानमन्त्री ओलीले हिजो प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै विभिन्न अभिव्यक्ति दिनुभएको थियो । त्यसप्रति आपत्ति जनाउँदै रास्वपाले संसदमा प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा व्यक्ति विशेष विरुद्ध कुण्ठा पोखेको आरोप लगाएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सो पार्टीकी सांसद चन्दा कार्कीले प्रधानमन्त्री ओलीले सहकारी ठगीको बिषयमा लामिछानेमाथि राजनीतिक प्रतिशोध नराखिएको भन्दै गलत भाष्य बनाउन खोजिएको धारणा राख्नुभएको थियो । लामिछानेले रुपदेन्ही जिल्ला अदालतमा दिएको निवेदनको पेशी तोकिएको दिन गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा तयार पारिएको उजुरी न्याय परिषद्मा दर्ता भएको रास्वपाकी सांसद कार्कीले आरोप लगाउनुभयो ।
यसैबीच, विपक्षी राप्रपाले संसदमा देखिएको विवाद समाधानका लागि पहल गर्न आग्रह गरेको छ । जेठ दोस्रो सातादेखि रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण लगायत विषय उठाएर प्रतिनिधिसभाको बैठकमा निरन्तर विरोध र बहिष्कार गर्दै आएका छन् ।