काठमाडौंमा विरोध प्रदर्शन गर्ने युवा पुस्ताको तयारी

भाद्र २२, २०८२ | काठमाडौं
सामाजिक सञ्जाल बन्द गरिएको बिषय उठाएर युवा पुस्ताले भोलि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । मुलुकमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरुले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् । विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै सामाजिक सञ्जालमा विभिन्न प्रचार सामाग्री राखिएका छन् ।
विद्यार्थीको पोशाकसहित परिचय पत्र र खाली कागज बोकेर माइतीघर मण्डलमा उपस्थित हुन आग्रह गरिएको छ । यसैबीच, काठमाडौंका मेयर बालेन्द्र साहले जेनजी पुस्ताको विरोध प्रदर्शनप्रति समर्थन जनाउनुभएको छ । मेयर साहले आफू भने प्रदर्शनमा सहभागी हुन नसक्ने बताउनुभएको छ । यसैबीच, सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको पत्रकारले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यले दर्ता नभएको बहानामा सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै काठमाडौंमा आज प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलमा भेला भएर पत्रकारहरुले सामाजिक सञ्जाल बन्द हुँदा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको बताएका छन् ।