झुम्का कारागारमा स्क्रब टाइफस फैलिएको पुष्टि

रेडियो कान्तिपुर संवाददाता

भाद्र २२, २०८२ | सुनसरी

चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएको सुनसरीको झुम्का कारागारमा विभिन्न तीन वटा रोगको प्रकोप फैलिएको पुष्टि भएको छ । उच्च ज्वरो, श्वासप्रश्वास जस्ता लक्षणबाट कैदीबन्दी बिरामीको मृत्यु भएपछि गत बुधबार कारागारमा स्वास्थ्य शिविर चलाएर ६३ जनाको रगतको नमुना संकलन गरेर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

 प्रतिष्ठानको प्रयोगशालाबाट कैदीबन्दीमा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो । कारागारमा स्वास्थ्य परीक्षणका लागि खटिएका चिकित्सकले अब सोही अनुसार परीक्षण तथा उपचार व्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । 


प्रतिक्रिया