सत्यनिरुपण आयोगमा द्वन्द्वकालका घटनासम्बन्धी १५ हजारभन्दा बढी नयाँ उजुरी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २२, २०८२ | काठमाडौं

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनासम्बन्धी १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि थप उजुरी माग गरेकोमा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको छ । 

आयोगका सदस्य तथा प्रवक्ता अच्युतप्रसाद भण्डारीका अनुसार नयाँ उजुरीमध्ये ३ हजार ९ सय १२ वटा उजुरी जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी रहेका छन् । यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सबैभन्दा बढी उजुरी जाजरकोटबाट ८ सय ८३ आएको आयोगले जनाएको छ ।

 नयाँ र पुराना गरी हालसम्मको उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी धेरै उजुरी परेकाले पीडितको गोपनीयतालाई ध्यानमा राखेर काम अघि बढाइने बताउनुभयो । आयोगका अनुसार पर्याप्त स्रोतसाधन उपलब्ध भए चार वर्षभित्र सबै काम टुङ्ग्याइने छ ।  


प्रतिक्रिया