नागढुंगा–सिस्नेरी सुरुङ खोल्ने तयारी

आश्विन ४, २०८२ | काठमाडौं
वर्षाका कारण पहिरोले गर्दा विभिन्न सडक खण्ड अवरुद्ध भएपछि सरकारले वैकल्पिक व्यवस्था गर्ने तयारी गरेको छ ।
यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्व लक्षित यातायात व्यवस्थापन र राजमार्ग लगायत सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गर्नुभएको छ । सो क्रममा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सवारीका लागि नागढुंगा–सिस्नेरी– सुरुङमार्ग हुँदै जाने र दसैंपछि सोही मार्गबाट प्रवेश गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले दाउन्ने खण्डमा चौबिसै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा भएको अवरोध हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने समेत निर्णय गरेको छ । तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैंअगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन पनि निर्णय गरिएको मन्त्री घिसिङले बताउनुभयो ।
मन्त्री घिसिङले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।