आजदेखि बडा दसैँ सुरु

आश्विन ६, २०८२ | काठमाडौं
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडा दसैँ आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो । कुल परम्परा अनुसार कसैले भने अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको समितिले जनाएको छ । यसैबीच आज बसन्तपुर दरबार स्क्वायरमा विधिवत पूजा आजा गरी जमरा राखिएको छ ।