ऊर्जा मन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

आश्विन ७, २०८२ | काठमाडौं
अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभयो ।
यस्तै, बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुसरण गर्ने, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनलगायतका क्षेत्रमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।