प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा चार मन्त्री थपिए

आश्विन ६, २०८२ | काठमाडौं
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मौजुदा मन्त्रीमण्डलमा चार जना मन्त्री थप गर्नुभएको छ । कार्की नेतृत्वको सरकारमा पूर्व न्यायाधिश अनिल सिन्हा, प्रविधिको क्षेत्रमा काम गरिरहेका महावीर पुन, कृषि विज्ञ मदन परियार र सञ्चारकर्मी पृष्ठभूमिका जगदिश खरेल मन्त्री बन्नुभएको छ ।
सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी लिनुभएको हो । पून शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको छ । कृषि विज्ञ परियार कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । सञ्चारकर्मी खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभएको छ । यसैबीच, अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्नुभएको कानून मन्त्रालयको जिम्मेवारी नयाँ मन्त्री अनिल सिन्हालाई दिइएको छ । मन्त्री कुलमान घिसिङको जिम्मेवारी भने यथावत् छ । उहाँले उर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ । दोस्रो पटक विस्तार गरिएपनि मन्त्रीमण्डलले पूर्णता भने अझै पाएको छैन । प्रधानमन्त्री सुशीला कार्कीले ९ वटा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।