फागुन २१ मा हुने निर्वाचनका लागि मतदाता नामावली संकलन हुने

आश्विन ८, २०८२ | काठमाडौं

फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएपनि मतदाता नामावली संकलन हुने भएको छ । चुनाव घोषणा भएपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्थालाई सरकारले अध्यादेशमार्फत् संसोधन गरेकाले अब केही समयका लागि नामावली दर्ता गर्न सकिने भएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचने प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गरिएको हो ।

मतदाता नामावली ऐन संशोधनका लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको छ । जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि ऐन संशोधन भई कार्यान्वयनमा जानेछ । त्यसपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम अघि बढाउने भएको छ । कहिलेसम्म नामावली दर्ता गर्न सकिने भन्नेबारे आयोगले औपचारिक रुपमा बताइसकेको छैन ।

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन भदौ २७ मा गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गर्नुभएको थियो । 


प्रतिक्रिया