सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल अझै 'ग्रे लिस्ट' मा
कार्तिक ८, २०८२ | काठमाडौं
सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तराष्ट्रिय निकायले नेपाल अझै ‘ग्रे लिस्ट’ मा रहेको जनाउँदै सुधारका लागि विभिन्न सुझाव दिएको छ । फाइनान्सियल एक्सन टास्कफोर्सको पछिल्लो बैठकले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीहरुमा सुधारका लागि नेपालले केही कदम चालेपनि रणनीतिक सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
बैठकपछि जारी वक्तव्यमा नेपालले सम्पत्ति शुद्धिकरणको मामिलामा ७ वटा बिषयमा सुधार गर्नुपर्ने सुझाव समेटिएको छ । नेपालको सन्दर्भमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीका जोखिमबारे स्पष्ट बुझाइ आवश्यक देखिएको छ । त्यस्तै, वाणिज्य बैंक, सहकारी, क्यासिनो, गहना पसल, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षणमा सुधार ल्याउन टास्कफोर्सले सुझाव दिएको छ ।
हुण्डीलगायत गैरकानूनी कारोबारको पहिचान र रोकथाम गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई चुस्त बनाउनुपर्ने सुझाव समेत दिइएको छ । सम्पत्ति शुद्धिकरण मामिलामा नेपाल ग्रे लिस्टमा परेको लगातार दोस्रो पटक हो । सम्पत्ति शुद्धिकरण मामिलामा देश विशेषलाई निगरानीमा राखिनुलाई ग्रे लिस्टमा परेको मानिन्छ । सो लिस्टमा अहिले क्यामरुन, कंगो, केन्या, नामिविया, नाइजेरिया, दक्षिण अफ्रिका, सिरिया लगायत १९ वटा देश छन् ।








