प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन तयारी लगायतबारे सुरक्षा निकायसँग परामर्श
कार्तिक ८, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गर्ने क्रम बढिरहेका बेला प्रधानमन्त्री कार्कीले सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको हो ।
बैठकमा मुलुकको सम्भावित सुरक्षा चुनौती, आगामी निर्वाचनको तयारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा जोखिमसहितको बिषयमा विश्लेषण भएको जानकारी दिनुभयो ।
आफ्ना राजनीतिक माग जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र भएको गृहमन्त्री अर्यालको भनाइ छ । राजनीतिक मुद्दाको सम्बोधनका लागि संवादको ढोका खुला रहेकाले सम्बद्ध पक्षहरुसँग संवादबाटै समस्याको समाधान गर्न चाहेको उहाँको भनाइ थियो ।








