एमाले महाधिवेशन : आज हुने भनिएको मतदान स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने

रेडियो कान्तिपुर संवाददाता

पुस १, २०८२ | काठमाडौं

एमालेको ११ औँ महाधिवेशनमा केन्द्रिय कमिटी चयनका लागि राति ८ बजेबाट मतदान हुने बताएपनि अन्तिममा आएर निर्वाचन स्थगित भएको छ । मतदानका लागि मतदाता लाममा भएपनि अन्तिम समयमा आएर स्थगित गरिएको हो । विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै भोलि बिहान ८ बजेदेखि सुरु गर्ने गरी मतदान प्रक्रिया स्थगित गरिएको एमालेले जनाएको छ । 

केपी ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा भोलि बिहान ८ बजेदेखि मतदान हुने घोषणा गर्नुभएको हो । यसअघि आज साँझ ७ बजेदेखि मतदान हुने भनिएकाले प्रतिनिधिहरु लामबद्ध भएर बसेका थिए । 

यसअघि, समेत दिउँसो देखि नै विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने व्यवस्था गरिएकोमा उम्मेदवारको नाम इन्ट्री गर्न समय लागेको भन्दै मतदानमा ढिलाइ भएको बताइएको थियो ।

यस्तै, महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्न लागिएको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने देखिएको छ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । एमालेको भावी अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र इश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धा उत्रिएका छन् ।

 उपाध्यक्षमा लड्न अस्वीकार गरेका प्रदीप ज्ञवालीको स्थानमा ओली पक्षले रघुजी पन्तलाई उपाध्यक्षको उम्मेदवारमा समेटेको छ । त्यस्तै, ओलीको टीममा नपरेपछि रुष्ट बनेर उम्मेदवारी दिएका राजेन्द्र गौतमले उपमहासचिवको प्रतिस्पर्धा त्याग्नुभएको छ । 

मतदान शुरु हुनुअघि महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारहरुले दिनभरजसो नै आफ्नो प्रचार गरेका थिए । एमालेको ११ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा तीनदिनदेखि जारी छ । महाधिवेशन उद्घाटन भने मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गरिएको थियो ।


प्रतिक्रिया