राष्ट्रिय सभा बैठक बोलाउने तयारी हुँदैछ : अध्यक्ष दाहाल
पुस १, २०८२ | काठमाडौं
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिनेबित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने विषयमा सरकार असहमत नभएको समेत बताउनुभयो । उहाँले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा माथिल्लो सदन राष्ट्रिय सभाले अपेक्षा अनुसार भूमिका खेल्न नसकेको टिप्पणी हुँदै आएको छ ।







