झापाबाट पूर्वराजाको काठमाडौं आगमनः राजावादी उत्साहित, प्रशासनको निषेधाज्ञा

रेडियो कान्तिपुर संवाददाता

माघ २९, २०८२ | काठमाडौं ।

मुलुक आसन्न निर्वाचनको तयारीमा होमिएका बेला राजावादी शक्तिहरुले पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापाबाट काठमाडौं फर्किने कार्यक्रमलाई महत्वका साथ लिएका छन् । पूर्वी नेपालको केही क्षेत्रको भ्रमणपछि काठमाडौं फर्किन लागेका पूर्व राजा शाहलाई भव्य स्वागत गर्ने तयारी भएको उनीहरुले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको अभियानले पूर्व राजा शाहको स्वागतका लागि सहभागी हुन आव्हान गरेका छन् ।

यसैबीच, मेडिकल व्यवसायी प्रसाईले आज पत्रकार सम्मेलन गर्दै पूर्वराजाको स्वागतका लागि आफूहरु विमानस्थल पुग्ने र राजतन्त्र पुर्नस्थापनाको मागलाई अघि बढाउने बताउनुभएको छ । प्रशासनले लगाएको निषेधाज्ञा नमान्ने उहाँको भनाइ थियो । त्यस्तै, सुवेदी नेतृत्वको समितिले पूर्वराजाको स्वागतका लागि विमानस्थल पुग्न आव्हान गरेको छ । यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सूचना जारी गर्दै काठमाडौं प्रशासनले विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि ¥याली, जुलुश र भीडभाडका कार्यक्रम नगर्न आग्रह समेत आग्रह गरेको छ । निर्वाचन विरोधी भनिएका समूहको घुसपैठ हुन सक्ने भन्दै जिल्ला प्रशासनले सो क्षेत्रमा कार्यक्रम नराख्न भनेको हो ।

यसैबीच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले निषेधाज्ञाप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा धारणा राख्दै उहाँले भन्नुभएको छ–“ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो ? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?”

पूर्वराजा शाह भोलि मध्यान्ह १२ बजे काठमाडौं फर्किन लागेको बताइएको छ । यसअघि गत बर्षको फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएपछि पूर्वराजा शाहको भव्य स्वागत गरिएको थियो । त्यसकै पृष्ठभूमिमा गत चैत १५ गते राजावादीहरुले काठमाडौको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । अहिले फेरि काठमाडौं बाहिरबाट फर्किन लागेका पूर्व राजाको स्वागत र त्यसका लागि भएको तयारीलाई कतिपयले चासोपूर्वक हेरेका छन् । 


प्रतिक्रिया