इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन नेपाल सरकारको आग्रह
फाल्गुन १६, २०८२ | काठमाडौं
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
त्यस्तै, इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ । त्यस्तै, तेल अविभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ ।
इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकले दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न मन्त्रालये आग्रह गरेको छ ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकले पनि त्यहाँका सम्बन्धित निकायहरूले सुझाएका सावधानीका उपाय पालना गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।











