निर्वाचनलाई निष्पक्ष बनाउन सुरक्षा निकायले भूमिका खेल्नुपर्छ : संयोजक दाहाल
फाल्गुन १६, २०८२ | काठमाडौं
निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले आज पनि विभिन्न जिल्लामा चुनावी सभा र कार्यक्रम आयोजना गरेका छन् । पर्सी सोमवार रातिबाट मौन अवधि शुरु हुने भएकाले दलहरुले चुनावी सभा र कार्यक्रमलाई तीव्रता दिएका हुन् ।
यसैक्रममा नेपाली कम्युनिष्ट पार्टीले रोल्पामा चुनावी सभाको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका संयोजक दाहालले निर्वाचनलाई स्वच्छ र निष्पक्ष गराउन सुरक्षा निकायले प्रभावकारी रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जेन जी आन्दोलनपछि निर्वाचनमा जाने वातावरण बनाउन आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको दाहालले बताउनुभयो । जटिल परिस्थितिमा हुन लागेको निर्वाचन निष्पक्ष भएमा आफ्नो दल प्रमुख बन्ने दाहालले दाबी गर्नुभयो ।











