फोहोर प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

असार ८, २०७४ | काठमाडौं
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वैज्ञानिकले फोहोरको रुपमा रहेका प्लाष्ट्रिकबाट हेटौडामा पेट्रोलियम पदार्थ निकालेका छन् । नास्टको टोलीले देशका विभिन्न सहरको फोहोर व्यवस्थापन र इन्धनकोसमेत उत्पादन गर्न सकिने प्रविधिबाट जानकारी गराउने क्रममा हेटौंडामा सफल परिक्षण गरेको हो ।
फोहोर व्यवस्थापन, वातावरणीय संरक्षण र इन्धन समेत उत्पादन हुने गरी बहुपक्षीय लाभका साथ पेट्रोलियम पदार्थ निकालिएको नाष्टको भनाई छ । प्रयोग गरी फ्याँकिएका प्लाष्ट्रिकजन्य फोहोर हरेक नगर क्षेत्रका लागि व्यवस्थापन गर्न समस्या भइरहेका बेला पाइरोलाइसिस विधिमा आधारित प्रविधि उपयोगी हुने नाष्टको बिश्वास छ ।
नास्टका केमिकल इन्जिनियर डा. रविन्द्रप्रसाद ढकालले आज हेटौंडा उपमहानगरपालिकामा सरोकारवालालाई प्लाष्ट्रिकबाट पेट्रोलियम पदार्थ उत्पादन प्रणालीबारे जानकारी गराउनुभएको थियो । प्रयोग गरी फ्याँकिएका प्लाष्ट्रिकलाई जम्मा पारेर नाष्टले पाइरोलाइसिस विधिबाट पेट्रोलियम उत्पादन गरिने प्रविधिको विकास गरेको जनाएको छ ।
प्लाष्ट्रिकलाई अक्सिजनको उपस्थिति नरहनेगरी कडा तापमा नष्ट गराउँदा कच्चा खालको पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने डा. ढकालको भनाई छ । नास्टका वैज्ञानिक टोलीले हेटौडामा प्लाष्ट्रिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरी सर्वसाधारणलाई देखाएका थिए । ढकालकाअनुसार, एक केजी प्लाष्ट्रिकबाट १ लिटर पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिनेछ ।
प्लास्टिकजन्य फोहर व्यवस्थापनमा समस्या भनिरहेका बेला प्लाष्ट्रिकबाट पेट्रोलियम उत्पादन गर्ने प्रणाली विकसित हुनु, पेट्रोलियम उत्पादनको क्रममा कुनै किसिमको वातवरणीय हानी नहुनु, सुरक्षित ढंगबाट पेट्रोलियम पदार्थ उत्पादन हुनु, पेट्रोलियम पदार्थमा नेपाल जस्तो पूर्णत: परनिर्भर मुलुकका लागि पेट्रोलियम उत्पादन दोहोरो लाभको अवसर हुने डा. ढकालले स्पष्ट पारे ।
हेटौडा उपमहानगरपालिकाले जैविक र अजैविक(प्लाष्ट्रिक शिशाहरु) फोहोर छुट्टाछुट्टै संकलन गर्दै आएको छ ।