बनकरिया भन्छन्, ‘चुरेघाँचको जंगल सुरक्षित र आनन्द’

भाद्र २६, २०७४ | काठमाडौं
‘टाउको लुकाएर वर्षौदेखि बसेको कतरे घर पनि आफनो होइन, टेकेको जमिनको पनि स्वामित्व छैन्’ सन्तमाया वनकरियाले दुस्खेसो पोख्दै भनिन् ‘योभन्दा त चुरेघाँचको जंगलमा नै आनन्द थियो,त्यहाँ जंगली जनावरबाहेक कसैको डर थिएन, यहाँ निकुन्जले कहिले लखेट्छ भनेर डराएर बस्नु पर्छ ।’
राष्ट्रिय आदीवासी जनजाती महासंघ महिला मञ्चले सोमबार हेटौडामा वनकरिया समुदायको भुमि अधिकार विषयक सरोकारवालाहरुबीच आयोजना गरेको संवाद कार्यक्रममा वनकरिया समुदायकी अगुवा महिला सन्तमायाले यस्तो पीडा पोखेकी हुन् ।
जंगलमा नै जन्मेका र हुर्केका लोपोन्मुख वनकरिया २ दशकदेखि मनहरी गाउँपालिका—४ साविकको हाँडीखोला गाविस—७ मुसेधापमा कतरे छाप्रा हालेर बस्दै आएका छन् ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका वनकरियाहरुलाई जिल्ला वन कार्यालय मकवानपुरले कवुलियती वन समूहअन्तर्गत ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा उनीहरु छाप्रो बनाएर बसेका छन् । वन कार्यालयले दिएको जमिन खनीखोस्री पेट भर्ने काम गर्दै आएका छन् । वन कार्यालयले उपलब्ध गराएको जमिन अहिले पर्सा वन्यजन्तु निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।
मकवानपुरमा मात्र बसोवास रहेको लोपोन्मुख वनकरिया समुदायको आवास भवन निर्माणको निम्ति सरकारले विनियोजन गरेको रकम बिगत ५ वर्षदेखि फ्रिज हुने गरेको छ । जनता आवास कार्यक्रम अन्तर्गत वनकरिया समुदायको निम्ति घर बनाउन सरकारले वर्षेनी ३० देखि ४० लाख रुपैयाँसम्म रकम विनियोजित गर्ने गरेको छ तर भवन नबनेको कारणले रकम फिर्ता ९फ्रिज०जाने गरेको छ । वनकरिया समुदायको आफनो नाममा एकधुर जमिन पनि नभएकाले सरकारी आवास सुविधाबाट उनीहरु बञ्चित हुँदै आएका हुन ।
सरकारले बनकरिया समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्न आव ०६८र०६९देखि बजेट विनियोजन गर्दै आएको छ तर उनीहरुको स्वामित्वमा जमिन नभएकाले घर बनाउन नसकेकाले रकम फ्रिज हुने गरेको जनता आवास जिल्ला समन्वय समितिका सचिव एव भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । निकुन्ज भित्रको जमिनमा उनीहरुको बसोबास रहेकाले त्यहा भवन बनाउन समस्या भएको उनले भने ।
बनकरिया समुदायको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा समाजशास्त्री डा। कृष्ण भट्टचनले आदिवासी जनजातिलगायत सबैलाई थातथलो छोड्न समस्या हुने बताए । ‘बनकरियाहरुलाई निकुन्ज क्षेत्रवाट अन्यत्र स्थानान्तरण गर्न पनि उनीहरुको मन्जुरी हुनुपर्छ, वलपुर्वक स्थानान्तरण गर्न हँुदैन’, उनले भने । आदीवासी जनजातीले नै वन्यजन्तु र जंगलको संरक्षण गर्दै आएको उल्लेख गर्दैै डा।भट्टचनले भने,‘वनकरियाहरुलाई सामुहिक स्वामित्वमा जमिन उपलब्ध गराउन पर्छ ।’
१८ घरधुरी रहेको बनकरियाको जनसंख्या अहिले ७९ पुगेको छ । दुई जना वनकरिया छात्राले मात्र एसएलसी उत्तीर्ण गरेर दाताहरुको सहयोगमा प्राविधिक विषय अध्ययन गरिरहेका छन् । सरकारले वनकरिया समुदायलाई मुलधारमा ल्याउने उद्देश्यले विगत ८ वर्षदेखि उनीहरुलाई सामाजिक सुरक्षा भत्तावापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
सरकारले बनकरियासहित १० लोपोन्मुख जातिलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिंदै आएको छ । मकवानपुरमा सामाजिक सुरक्षा भत्ता पाउने वनकरियामात्र एक समुदाय हो ।