बडादशैंले ल्याएको मुस्कान

आश्विन १०, २०७४ | मोरङ

 

शीरमा माटाको भाँडा बोकेर झोलुंगे पुल पार गरिरहेका दुई बालिकाको मुहारमा टाँदैबाट मुस्कान छल्किरहेको थियो । ‘पर्व आयो नि, लिपपोत गर्न माटो ल्याएको हो, घर सफासुग्घर पारेपछि बाआमाले दशहरामा मेला घुम्न जाने भन्नु भएको छ,’ दसैं आयो है ? भनेर सोध्दा एक बालिकाले हाँस्दै जवाफ फर्काइन् । निकै खुशी उनीहरु हतारोमा रहेकाले एक छिन पनि अडिएनन् । 

सबै जातीको मिश्रित बसोबास रहेको मोरंगको सुनवर्षी नगरपालिका–१, अमरदह गिर्दलिया बस्ती बाहिरबाट सुनसान देखिए पनि भित्रभित्रै स्थानीयलाई विजया दशमीको तयारीको चटारो छ । ‘फुलपाती देखि वरिपरि स्वत: चहलपहल सुरु हुन्छ,’स्थानीय ५० वर्षीया माया माझीले भनिन् । झोलुंगे पुल बनेपछि आवागमन पनि नीकै सहज भएको उनले बताइन् । 

‘वरिपरिको गाउँ र सहरबाट टिका थाप्न आउनेलाई झन्डै ६ किमी घुमाउरो बाटो हिंड्न वा गुड्न पर्दैन,’उनले भनिन् । झोलुंगे पुल मुनिबाट बगिरहेको मोरिया खोला छेउमा भैंसी खुट्न आएकी माझी पनि निकै व्यस्त देखिइन् । 

सो पुल पारीको स्थानीय केचना टोलबासी त खसीबोकाकै तौल र मूल्य बारे गफ गरिरहेका भेटिए । ‘आफ्नो लागि त अस्ति नै किनिसकेँ, सहरतिर बस्ने आफन्तजनका लागि खसीबोकाको प्रबन्ध गर्दैछु,’ ५१ वर्षे गोरखबहादुर भूजेलले भने । उनी बोकालाई खुवाउन पात र घाँसको जोहो गरिरहेका थिए । भूजेलको घरको ठिक अघिल्तिरको ७ विघा ७ धुर सार्वजनिक जग्गामा कमलखाडी रहेछ । 

हिन्दुहरुको एक प्रमुख काव्य ग्रन्थ महाभारतमा समेत उल्लेख भएको यो कमलपोखरीमा स्थानीय आदिवासी सन्थाल (सतार) समुदायले आफना महत्वपूर्ण धार्मिक संस्कार गर्छन् । चाडबाडको मौकामा यो पोखरी हेर्नलाई टाढाटाढाबाट युवायुवती आउने गरेको स्थानीयले बताए । ‘आफूले मन पराएकोलाई कमलको फुल दिएमा प्रेम प्रस्ताव स्वीकार्य हुने विश्वास छ,’एक युवकले भने ।

कोही त दशमी खर्चको जोहो गर्न हाट बजारमा बेच्नलाई धमाधम हस्तकला सामग्री तयार पारिरहेका थिए । स्थानीय डाँस खोलाको बाढीले बगाएको बाटो र कल्भटको डिलमै घर भएका सुनवर्षी–१, दोमनाका २५ वर्षीय सुरेशकुमार हेमरम बाँसको ढाकी बनाउन तल्लीन थिए । 

उनको घर वरिपरि बाढीले पोखरीहरु नै बनाएको छ भने छेउछेउको साँघुरो कच्ची बाटो हुँदै स्थानीय ओहोरदोहोर गरिरहेका देखिन्छन् । उनी भने यी सबै पीडा बिर्सेर आँगनको छहारीमा एकोहोरो काम गरिरहेका थिए ।  

‘साप्ताहिक हाटमा बेचेर दशमी र तिहारको खर्च निकाल्छौं,’उनले भने । हेमरमले स्थानीय हाटमा १ सय ५० रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्ममा १५/१६ ढाकी बेच्छन् । झन्डै १ सय ५० रुपैयाँमा पाउने बाँसबाट सपरिवार मिलेर दैनिक ५/६ वटा ढाकी बनाउँछन् ।

सुनवर्षी– ४ स्थित एक पुरानो चौतारामा सुस्ताइरहेका स्थानीय पनि दशमीको प्रसँग आउँदा निकै प्रसन्नता व्यक्त गरिरहेका थिए । ‘साइकलमा वा पैदलै फनफनी वरिपरिका सबै मेला र दूर्गा पन्डाल हेर्न पुग्छौं,’स्थानीय मनोहर दासले भने ।  

सुनवर्षीको उत्तर छिमेकी मोरंगकै पथरीशनिश्चरे नगरपालिका–७, मर्चनियाँका २८ वर्षे पदम भूजेलले दसैंका लागि तीन हजार रुपैयामा खसी किनेर ल्याएको बताए । उनको सुन्दरवस्तीको वरिपरिको खेतमा असारमा लगाइने चैते र हर्दिनाथ जातको धान पाकेर लहलहराइरहेको छ । 

‘चाडबाड र बाली उस्तै हुँदोरहेछ,’उनले भने,‘बेला आएपछि कसैले रोक्न नसक्ने ? अहिले बस्ती शान्त देख्नुहुन्छ, फुलपाती देखि दशैंंमय हुन्छ ।’ मुलुककै मुख्य सहर र विदेशमा रहेका बन्धु टिका थाप्नलाई आएपछि माहोल स्वत: बन्ने भूजेलले बताए । 

चार सदस्यीय यो परिवार दशमीकै स्वागतमा लागिपरेका देखिए । दसैंमा झन्डै ६०/७० पाहुना आउने गरेको उनले सुनाए । यो नगरपालिकाको वरिपरिको थुप्रै हाट, बजार र थान (पुजा स्थल) मा यो दिन ठूलो मेला लाग्छ । 

मोरंगको दक्षिणपूर्वी भेकको मुख्य बजार रंगेलीको मठमन्दिरमा दशमी अगावैं रौनक देखिएको छ । महापर्वको दिन नजिकिंदै ती धार्मिक थलोमा उपस्थिति बढ्दो छ । कतिपय स्थानीय माझी दशैंं खर्चको जोहो गर्न पोखरी र नदीमा माछा मारिरहेका भेटिन्छन् । ‘अस्तिको बाढीमा सबै ठूला माछा बगे, जालोमा फसिरहेका यही सानो माछा बेचेरै भएपनि पर्वको खर्च जुटाउनुपर्ला,’रंगेली–६ स्थित पोखरीमा माछा मारिरहेका एक माझीले भने । 

रंगेली–७ स्थित बक्राहा खोलामा बाढीले अन्यत्रबाट प्रशस्तै माछा बगाएर ल्याएको हुनाले स्थानीय माझीहरु मख्ख पनि छन् । भर्खरै बाढीको चपेटामा निस्केका मोरंगका श्रमिक वर्ग पनि दशमीको निकट दैनिक कामकाजलागि सहरबजारतिर लाग्ने क्रम बढेको छ । 

‘फुलपातीसम्म सक्दो काम गरेर पैसा जम्मा गर्छौं, अष्टमीमा सपरिवार किनमेल गर्छौं,’मोरंगको धनपालथानका राजमिस्त्री गोपाल पासवानले भने,‘वर्षमा एक पटक आउने पर्वमा रमाइलो गर्नुपर्छ ।’ विराटनगरदेखि ४२ किमी टाढाको मोरंगको दक्षिण, पूर्व र उत्तरी ग्रामीण भेकमा दिनभर घुम्दा दसैं नमनाउने एक जना पनि भेटिएनन् ।  

‘टिका थाप्नु भनेको नेपालीको लोकप्रिय संस्कृति हो, बहुसंख्यकले यसको सम्मान गर्छन्,’रंगेलीका समाजसेवी युवा बजरंग अग्रवाल भन्छन्,‘टिकाजमरा संस्कृति नमान्नेले पनि कुनै न कुनै रुपमा दशहरा अवश्य मनाउँछन् ।’ उनको अनुसार मन्दिरमा पुजा गर्नु, मेला र घरमा आफन्तजनसँग भेटघाट गर्नु, शुभकामनाको साटासाट गर्नु, सँगै खानपीन गर्नु, घुम्नु एवं रमाउनु पनि दशमी मनाउनु नै हो ।


प्रतिक्रिया