तराई–मधेसमा छठको चटारो, जलाशय किनारमा सरसफाइ गरिंदै

कार्तिक ६, २०७४ | विराटनगर

 

तराई–मधेस लगायत मुलुकभर नेपालीहरुको अर्को ठूलो पर्व छठको तयारी उत्कर्षमा छ । दुई महिना अघिको भयंकर बाढीले समेत व्रतालु एवं परिवारजनको मनोबल तोड्न सकेको छैन् । बाढीले घाटको पुरानो संरचना भत्काउँदै नीकै कटान गरेपनि उही उत्साहका साथ पूजा स्थलको तयारीमा स्थानीय जुटेका छन् । घाट भनिने जलाशय किनारमा जोडतोडले सरसफाई एवं सजावट सुरु भएको छ । 

करीब दुइ महिना अघिको बाढीले घरघडेरी एवं अधिकांश धनमाल बगाएपनि विराटनगर–८ की गृहिणी ३४ वर्षीया राधा पौदार अहिले सपरिवार छठ पूजाको तयारीमा व्यस्त छिन् । सूर्य पुजनको यो महापर्वमा थरीथरीका सामाग्रीको जोरजाम गर्नुपर्ने हुनाले नीकै खर्च एवं मिहिनेत लाग्छ ।

तिहार समापनको लगतै मंगलबारदेखि विधिवत सुरु भइरहेको यस पर्वका लागि जलाशय किनारलाई चिटिक्क पार्ने गतिविधिले गति लिएको छ ।

मुख्य व्रतालु एवं परिवारजन एक महिना अगाडि देखि पर्वको बन्दो बस्तीमा लाग्छन् । छठका लागि चाहिने बाँसको नांग्लो, ढाकी र माटाको सामाग्रीको बजार पनि महिना अगाडि देखि लाग्न थालिसकेको छ ।  घर, पसल र सार्वजनिक थलोमा धेरै दिन अगावै देखि छठको लोक गीत गुञ्जि रहेको छ । दिपावलीको दिन देखि छठ गीत बजाउने क्रम पनि बढेको छ । तिहार र छठमा प्रयोग हुने सामाग्रीमा समानताका कारणले दुवै पर्वको तयारी लगभग सँगसँगै सुरु भइसक्छ । हुन त विपन्नले भिक्षा मागेर पनि गर्छन् किनकी एक वर्ष छुटाउँदा पनि अर्को वर्ष दोब्बर पुजन सामग्री चढाउनै पर्ने धार्मिक मान्यता छ जसको लागि झन्डै नीकै खर्च हुन्छ ।

अर्को वर्ष गर्दा झन्झटिलो हुन जाने भएकाले पौदारले थोरथोर पैचौं लिएर भएपनि किनमेल सुरु गरेकी छन् । ‘यस पटक नगर्दा अर्को वर्ष दोब्बर खर्च र धेरै मिहिनेत लाग्छ,’उनले भनिन्, ‘एक्लै छु, कसले सहयोग गर्ने ? त्यही भएरै छाड्नै सकिन ।’ दुई सन्तान एवं पतिका लागि यो पर्व गरिरहेकी उनले झन्डै १० हजार रुपैयाँ खर्च हुने बताइन् । 

पाँच धुर नम्बरी जग्गामा बनाएको तीन कोठे पक्की घरसहित पौदारको लगभग सबथोक स्थानीय सिंघिया खोलाको बाढीमा बग्यो तर उनले छठको लागि गत वर्ष किनेको पित्तलको दुई नांग्लो र केही आवश्यक सामान ज्यानको जोखिम मोलेर भएपनि जोगाइन् । 

जग्गा खोलामा बिलिन भएपनि उनी अहिले ४ हजार रुपैयाँ बहाल तिरेर सपरिवार दुई कोठामा बसिरहेकी छन् । उनको श्रीमान रञ्जीत पौदार स्थानीय एक कागत कारखानामा काम गर्छन् । सुनसरीको इटहरी माइत भएकी राधा भने शिक्षित गृहिणी हुन् । 

पौदारले तीन वर्षदेखि छठ गर्दै आएकी छन् । ‘कसरी सम्पन्न हुन्छ ? थाहा छैन ?’ पूर्णतया घरवारविहिन उनले भनिन्, ‘चिनजानेकासँग थोरथोर सापटी माग्दै काम चलाइरहेको छु ।’ पौदार परिवारले बचेखुचेकै जग्गामा वरिपरि टिन र बाँसले घेरेर बस्ने एवं पुजा गर्ने बन्दोबस्तीमा लागेका छन् । पती रञ्जितले भने, ‘भुसुवा/ठेकुवाजस्ता प्रसाद तयार पार्न एवं पूजा विधि सम्पन्न गर्न फराकिलो ठाउँ चाहिन्छ, आफ्नो घरमाजस्तै बहालको कोठामा गर्न कठिन हुन्छ ।’ 

विपत्तिमा पूजा गर्न लागेका पौदार परिवार एक्ला होइनन् । विराटनगरकै जामुनगाछीकी ३५ वर्षीया रुपदेवी रायको साढे १२ धुर जग्गामा रहेको दुई कोठामध्ये एक बग्यो भने अर्को भत्कियो । स्थानीय केशलिया र बुढीगंगा खोलाको बाढी उनको बस्तीमा प्रवेश गरेको थियो । 

उनी त्यही भत्किएको घरलाई टालटुल पारेर श्रीमान र चार छोराछोरी सहित बसिरहेकी छन् । फर्निचर व्यवसायी श्रीमानको काम पनि बाढीपछि राम्ररी चल्न नसकेकोले अभावमा बाँचिरहेको उनले बताइन् । पूर्णतया यस महानगरकै वासिन्दा उनी १३ वर्षदेखि छठ गरिरहेकी छन् । 

‘सापटी लिएरै जोरजाम थालेको छु, ’रायले भनिन् । परिवारको सदस्य संख्या अनुरुप बाँस वा पितलको नांग्लो एवं पुजन सामाग्रीको प्रबन्ध गर्नुपर्ने यो पर्वमा सबै व्रतालु परिवारको खर्च एकै नासको हुन्न । सन्तानको संख्या र चढाइने प्रसादको किसिम तथा परिमाणमा समेत यो भर पर्छ । 

धेरै छोराछोरी भएकाले धेरै नांग्लो एवं त्यही अनुरुप प्रसाद चढाउनु पर्ने हुनाले धेरै खर्च हुन्छ । रायले ८ हजार रुपैयाँ जति खर्च हुने बताइन् । ‘पोहोर पनि बाढीले दु:ख दिएकै हो, यस पटक त सखापै पारेर गयो,’उनले भनिन् । घर मरम्मत र दैनिक खर्च धान्नलाई अहिलेसम्म झन्डै ६० हजार रुपैयाँ ऋण लिइ सकेको रायले बताइन् ।  

तराइ–मधेसको पूर्वी भेकको मात्र नभएर कोशी पारीका बाढीपीडितले दयनीय स्थितिमा पनि छठको तयारी गरिरहेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी ग्रामकी ५० वर्षीया सुनीतादेवी मिश्र पनि यस्तै एक हिम्मतीला नारी हुन् । बाढीमा उनको घरलाई क्षति पुगेको छ । 

‘कुनै वर्ष पनि पुजा छाडिन्, जहाँबाट जसरी र जे जुर्यो, त्यसैले चार दिने अनुष्ठान पुरा गरिरहेकै छु,’मिश्रले भनिन् । स्थानीय खाँडो खोलाको धारले उनले १० कठ्ठामा लगाएको धानबाली नष्ट भएको छ । प्रति कठ्ठा ३ देखि ७ मन धान उत्पादन हुन्छ ।

मिश्रले एक दसकदेखि यो पर्व गर्दै आएकी छन् । उनी दुई छोरा र दुई नातीका लागि छइठ मैयाँलाई चार नांग्लो भरी प्रसाद अर्पण गर्छिन् । दिपावली र छठको लागि सामानको किनमेल सँगसँगै गरिंदै आएपनि पैसा अभावले उनले सकिनन् ।  

मिश्र परिवारले यताउतीबाट सापटी लिएर यसकालागि यो वर्ष ५ हजार रुपैयाँको जोहो गरिरहेका छन् । उनले भनिन्,‘आँट गरेकी छु, छठी मैयाँले अवश्य पुर्‍याउँलिन ।’ मिश्रको छिमेकी भगवानदेवी पनि यस्तै खाले उकुशमुकुशमा छिन् । बाढीमा उनको पनि चार कोठे घर बग्यो । १५ कठ्ठामा लगाएको धान गलेर गयो । तर परम्परादेखि मनाउँदै आएको छठ चाँहि उनी यस पटक पनि गरेरै छाड्ने अठोत लिएकी छन् । ‘नमनाएर हुन्छ त ?,’ उनले भनिन् । 

भगवानदेवीले पाँच वर्षदेखि प्रसादले भरिपुर्ण  तीन नांग्लो र सिंगै केराको घडी सहितको बोट छठी मातालाई चढाउँछिन् । उनीभन्दा अगाडी परिवारकै अन्य ज्येष्ठ महिलाले यो पुजा गर्थिन् । उनले पनि भनिन्, ‘यताउतिबाट तयारी खर्च जुटाउँदैछु ।’ यी त केही प्रतिनिधि पात्र मात्र हुन् । गत साउनको अन्तिम सातादेखि आएको लगातारको बाढीले गरेको विनाशका कारणले तराई–मधेसको अधिकांश भागका छठ व्रतालुको स्थिति यस्तै छ । 

परिवारको सु:ख, समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिंदै आएको जनविश्वास छ । दिपावली झैं झिलिमिली पारिएको घाँट भनिने जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल र भोगटेलगायत लोकप्रिय पुजन सामाग्री सहित सूर्यलाई अर्घय दिएपछि यो चार दिने पर्वको समापन हुन्छ । छठ नसकुन्जेल ब्रतालुले घरमा समेत दिपावली गर्छन् ।

यस पर्वको अन्तिम दुई दिन नदी, खोला, नहर र पोखरी छेउ भक्तजन एवं आगन्तुक ओइरिन्छन् । व्रतालुले पहिलो दिन  मंगलबार नुहाएर शुद्ध शाकाहारी भोजन खाएर व्रत सुरु गर्छन् । यसलाई स्थानीय भाषामा ‘नहाए खाए’ भनिन्छ । दिनभरी उपवास बसि दोस्रो दिन बुधबार साँझ चोख्याइएको एक कोठाभित्र खिर, पुरी र केरा लगायतका गुलियो प्रसाद केराको पातमा फिजाएर ईश्वरको आराधना गर्छन् । यसलाई खरना भनिन्छ । पुजा सकेपछि सबभन्दा पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन् । त्यसपछि परिवारजन र छरछिमेकीलाई बाँडिन्छ ।

तेस्रो दिन बिहीबार साँझ र अन्तिम दिन शुक्रबार बिहान बाँस वा पितलको भाँडाकुडामा सजाएर राखिएको पुजन सामग्रीसहित जलाशय किनारमा हात उठाएर सूर्यको आराधना गरेपछि मात्र यो पर्व सकिन्छ । पुजा गर्ने घरका मुख्य महिलाले पानीमा उभेर साँझ पख अस्ताइरहेको र बिहानी पख उदाइरहेको सूर्यलाई प्रसादसहित दुध एवं जलको अर्घय दिन्छन् । यसलाई क्रमश : सझिया घाट वा सझिया अर्घय र भोरका अर्घय भनिन्छ । बिहानको अर्घयपछि ब्रतालुले प्रसाद खाइ उपवास तोड्छन् । त्यसपछि घर फर्कि अन्नजल ग्रहण गर्छन् । यसलाई पारण भनिन्छ ।   

यो क्रममा छठका मधुर लोक गीत गाउनुका साथै छठ महिमाको कथा वाचन पनि गरिन्छ । लगातार चौथो दिनसम्म व्रतालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ । घरका ज्येष्ठ र स्वस्थ महिलाले पुजाको नेतृत्व गर्छिन् । नसक्ने भएपछि वरियता क्रममा परिवारका अन्य योग्य सदस्यले पूजाको जिम्मेवारी लिन्छन् । यो क्रम चलिरहन्छ । घरमा कुनै अप्रिय घटना भएमा वा कसैको मृत्यु भएमा यो पर्व गरिन्न । अर्को वर्ष फेरि गर्दा दोब्बर पुजन सामग्रीसहित पुजा सुरु गर्नुपर्छ । 

विश्वभरीका लगभग हरेक सभ्यता, जाती, धर्म र समुदायले आ–आफ्नै ढंगले सूर्यको उपासना गरेपनि छठ पर्व भने तराईवासी नेपाली बाहेक भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशकाले धुमधामले समेत मनाउँछन् ।  

यो सम्पन्नदेखि विपन्नसम्मले मनाउँने बहुजातीय एवं बहुसाँस्कृतिक पर्व हो । दलित डुम समुदायले बनाउने बाँसको ढकी र नांग्लोमा पुजा गरिने हुनाले यसलाई समानताको पर्व पनि मानिन्छ । यो पर्वमा सहभागिताले पनि ठूलो महत्व राख्छ । घरमा ठेकुवा एवं भुसुवालगायतका प्रसाद तयार गर्नुदेखि घाटमा अर्घय दिने बेलासम्म परिवारजन एवं छरछिमेकको सहयोगी भूमिका हुन्छ । यो सामूहिक एवं पारिवारिक पर्व हो । एकलैले गर्न सम्भव हुन्न । 

त्यही भएर यो बेला छरछिमेक पनि सहयोग गर्न आइपुग्छन् । आर्थिक रुपले अक्षमले भिख मागेर पनि यो धार्मिक अनुष्ठानलाई सम्पन्न गर्छन् । हुने खानेले समेत कुनै भाकल पुरा भएमा भिक्षा मागेर पुजा गर्ने अठोत लिन्छन् । आफैले गर्न नसक्नेले चिनेका ब्रतालुलाई सामग्री किनेर दिइ पुजामा सहभागी हुन्छन् । घरदेखि जलाशय किनारसम्म यस पर्वको रमझम महसुस गर्न सकिन्छ ।

 


प्रतिक्रिया