हाम्रो पालाको दसैँ पो दसैँ

आश्विन ३०, २०७५ | विराटनगर

‘अन्तिम पटक दसैं कहाँ मनाउनु भएको थियो ?’, ‘हाम्रो उमेरको हुँदा हजुरहरुले यति बेला के के गर्नुहुन्थ्यो ? र ‘आश्रम भित्र विजयादशमी कसरी बित्छ ?’विराटनगर–८, संगम चोकका २२ वर्षीय आश्मिन भूजेलले सोमबार बिहान स्थानीय विराटेश्वर वृद्ध आश्रममा यि जिज्ञासाहरु राख्दा बाआमा मख्ख पर्दै सुनिरहेका थिए । यि नाति उमेरका युवकसँग वडादसैंको अनुभव साटासाट गर्न वृद्धवृद्धाबीच प्रतिस्पर्धा नै चलेको थियो । 

‘हाम्रो पालाको दसैं पो दसैं, ‘७१ वर्षीय गणेशबहादुर निरौलाले भने,‘अहिलेका देखावटी र नक्कली पाराले मनाउँछन् ।’ पुर्खौली घर खोटांग बताउने उनी डेढ वर्ष अघि मात्र यो आश्रममा आएका हुन् । 

चिटिक्कको पहिरन र गोरो मुहारमा कालो चश्मा लगाइ आश्रममा फनफनी घुमिराख्ने हुनाले उनलाई सबैले ‘सलमान खान बा’ भनेर बोलाउँदा रहेछन् । उनलाई पनि यो संवोधन मनपर्छ । मख्ख पर्छन् । अनि बोनसमा एउटा भजन पनि सुनाइहाल्छन् । 

 

‘एक्लैले होइन, दस जनाले मिलेर मनाएको दसैं पो रमाइलो हुन्छ,’निरौलाले भने,‘हामी त पुरा गाउँ मिलेर मनाउँथ्यौं, कसको घरमा कति पटक खाइयो ?, याद हुँदैन्थ्यो, पिंग खेल्दा र गाउँ डुल्दाडुल्दै खाएको पच्थ्यो ।’ अहिलेका नयाँपुस्ता चार घरमा पुगेर टीका नलगाउँदै थाक्ने गरेको निरौलाले औंल्याए ।

जीवनको विभिन्न आरोहअवरोह खेप्दै आइपुगेका वृद्ध बाआमामध्ये धेरैले आफनो गाउँठाउँको नाम समेत विर्सि सकेका छन् । धेरै जोर दिएर सोधेमा आफ्नो जिल्लासम्मको नाम भन्न सक्दा रहेछन् । ‘तेह् वर्षअघि यति बेला बडा दसैंकालागि घर लिपपोत गरिरहेको थिएँ,’७३ वर्षीया सिंहमाया तामांगले भनिन् ।

उनी २०६२ मा फागुनमा पाँचथरबाट आश्रममा आएकी हुन् । ‘अहिलेको जस्तो हो र, हामी त मनले मान्थ्यौं, अहिले देखासिकी बढी गर्छन्,’सिंहमायाले भनिन् ।  आफूहरुको जस्तो गरी वरिपरि कसैले   दसैं नमनाउने गरेको उनले ठोकुवा गरिरहेकी थिइन् । ‘भर्खरकी हुँदा त भदौं लागेदेखि दसैंको पर्खाइमा हुन्थेँ,’सिंहमायाले सम्झिइन्,‘नयाँ नयाँ लुगा लगाउने, मिठो खाने र फिल्म हेर्न जान मन पराउँथे ।’ 

मुख्य पर्वको २० दिन अगावैदेखि जाँड पकाउने, दुनोटपरी तयार पार्ने र माछामासुको बन्दोबस्तीमा लाग्ने गरेको उनले बताइन् ।  आपसमा रकम संकलन गरी यो बेला राँगा नै किन्ने गरेको सिंहमाया बिर्सेकी छैनन् । 

‘खानलाई अरुकोमा जाने र अरुलाई बोलाउने क्रम धेरै दिनसम्म चलिरहन्थ्यो,’सिंहमायाले भनिन्,‘पाहुनाको रुचीअनुरुपको मासु खुवाउँथ्यौं ।’ उक्त आश्रममा माछामासु नपाक्ने हुनाले उनी केही वर्षदेखि शाकाहारी दसैं मनाइरहेकी छन् । ‘उमेर छँदा त अघाइन्जेल मासु खाइयो,अब त बुढी भएँ, नपच्छ, न त रुच्छ’उनले भनिन्,‘यो बेला त आश्रमभित्रको शाकाहारी दसैं मन पर्छ, यहि भित्रका अग्रजबाट टिका थाप्छौं, खान्छौं, रमाउँछौं ।’उक्त आश्रममा ५२ जना वृद्धवृद्धा छन् । ‘दसैंकालागि भनेर खसी पाल्थ्यौं, कहिल्यै किन्नु पर्दैन्थ्यो,’८० वर्षीया चन्द्रकुमारी कार्कीले भनिन् । सोलुखुम्बुकी यी आमाले सोह् श्राद्धपछि मन स्वत: दसैंमय हुने गरेको सुनाइन् । ‘नवरात्रिको दिनदेखि रोटे पिंग खेल्थेँ,’उनले भनिन्,‘धेरै पटक लडियो पनि ।’ घरमा हुँदा केरा पकाउने र दही चिउरा खाने गरेको बताइन् ।

‘दसैं मनाएका ती पुराना दिनहरु संझिदा खुशी लाग्छ,’उनले भनिन्,‘आश्रममा पनि दाता र पाहुनाहरु आउनु हुन्छ, टीकाजमरा थाप्छौँ लाइदिन्छौँ, उनीहरु पनि परिवारभन्दा कम होइनन् ।’ यहाँ आश्रित पाँचथरकै ६३ वर्षीय इन्द्रजीत गजमेर त विजयादशमी सम्झेर रोमाञ्चित हुन्छन् ।‘पेसाले चालक थिएँ, जहाँबाट निम्तो आए पनि मासुमदिरासहितको भोज छुटाइँदैन्थ्यो,’उनले भने,‘मेलापात गरिन्थ्यो, प्रेम साटासाट हुन्थ्यो, मायालु पाराले तरुनी जिस्काइन्थ्यो तर नराम्रो भावना राख्दैन्थेँ ।’

भारत पञ्जाबको मोहालीस्थित चन्डिगढ युनिभर्सिटीमा चार वर्षे कम्प्युटर इन्जिनियरिंगमा अध्ययनरत युवा भूजेल यि बाआमाको रोचक दसैं अनुभव सुनेर दंग परिरहेका थिए । 

‘यो अनुभव नीकै फरक रह्यो,’उनले भने,‘उच्च प्रविधिको पहुँच नभएकोले उतिबेलाको दसैंमा पक्कै पनि मौलिकता, मिठास र रमाईलो बढी भएको महसुस भयो ।’ कम्प्युटर इन्जिनियरिंग विषयको पनि सुरक्षा सूचना (इनफरमेसन सेक्युरिटी) मा विज्ञता हासिल गरिरहेका भूजेल तीन वर्षपछि दसैं मनाउन विराटनगर आएका हुन् । 

‘लामै समयपछि घरमै मनाउन गइरहेको हुनाले यसपालीको दसैं मेरोलागि विशेष छ,’भूजेलले भने,‘यि पाका बाआमासँगको भेटघाटले झनै स्मरणीय बनेको छ ।’ उक्त आश्रमका कर्मचारी दिलीप आचार्यले अहिलेसम्म कोहि पनि युवा यसरी बाआमासँग गफगाफ गर्न नआएको बताए । उक्त आश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्यालले यो अन्य नयाँ पुस्ताका लागि पनि प्रेरणीय हुने बताए । दसैंमा बाआमालाई टीका लगाइ दिएर थरिथरिका मिठो शाकाहारी भोजन खुवाउने गरेको उनले बताए । ‘बाआमालाई नपच्ने खाले मासुभन्दा पनि मिठो शाकाहारी भोजन खुवाउँछौं,’अज्र्यालले भने । 

 


प्रतिक्रिया