हिमपातले संखुवासभामा जनजीवन प्रभावित

मंसिर २८, २०७६ | संखुवासभा

शुक्रबार दिउँसोबाट संखुवासभाका उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण नुनढाकीको गुफापोखरी सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । दिउँसो १ बजे पानीसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । 

उत्तरी र दक्षिणी क्षेत्रका ४ वटा भन्दा बढी गाउँपालिका प्रभावित भएका स्थानीयवासीले बताएका छन् । जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमांथांका, चेपुवा, लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । २ फिटसम्म हिउँ जमेपछि जाडो बढेको स्थानीयको भनाई छ । 

नुनढाकीको गुफापोखरी तथा उत्तरी हिमाली क्षेत्रमा २ फिट देखि ५ फिट सम्म हिउँ जमेको डीएसपी मीमबहादुर लामाले बताउनुभयो । एक्कासी भारी हिमपात भएपछि पर्यटकीय क्षेत्र नुनढाकीको गुफापोखरीका बासिन्दा घर बाहिर निस्कन नसकेको स्थानीय हिमा खनालले बताईन् । ‘चारै तर्फ हिउँले ढाकेको छ, उनले भनिन्, सडकमा बाक्लो हिउँ जमेपछि यातायातका साधन समेत चल्न सकेको छैन ।’

बसन्तपुर टुटेदेउराली, गुफापोखरी हुँदै ताप्लेजुङ जाने सडक खण्डमा जमेको हिउँले यातायातका साधन सञ्चालनमा समेत कठीनाई भएको छ । 


प्रतिक्रिया