वीरगञ्जमा निषेधाज्ञा एक साता थप, बजार भने खुल्ने

भाद्र १८, २०७७ | वीरगञ्ज

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पर्साको वीरगञ्जमा गत साउन १० गतेदेखि जारी निषेधाज्ञा एक साता थप गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जारी निषेधाज्ञाको अवधि भदौ २५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । 

वीरगञ्जमा जारी निषेधाज्ञा बिहीबार मध्यराति १२ बजेबाट सकिंदै थियो । समितिले गत साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ गतेदेखि पर्सा जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । भदौ १३ गतेयता महानगरक्षेत्र भित्र मात्र निषेधाज्ञा लागू गरिएको छ । 

निषेधाज्ञाकै क्रममा स्थानीय सुरक्षा समितिले भदौ १९ गतेदेखि बजार तथा पसल खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । पसलहरु दिउँसो ११ बजेदेखि ४ बजेसम्म र तरकारी तथा फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सुरक्षा समितिले निर्णय गरेको छ ।

सोमबार, बुधबार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइने छ । यसैगरी, आइतबार, मंगलबार र बिहीबार पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइने छ । 

तरकारी तथा फलफूलको हकमा रेल्वे रोडमा घन्टाघर चोकदेखि २ सय मिटर, स्कूलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्र पसलहरु राख्ने र दुई पसलबीचको दुरी न्यूनतम १५ फिट राख्नुपर्ने छ । सो सडकखण्डमा तोकिएको अवधि भरी कुनै पनि मालबाहक, यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यस्ता पसलहरु शनिबार पूर्णरुपले बन्द रहने छन् । तेकिएको समय र स्थान बाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानून बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

आ–आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दूरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने प्रशासन कार्यालयले जारी गरेको विज्ञिप्तमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ ।

बन्द रहने सेवा :

जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न पाइने छैन । कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, चार जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन नपाइने विज्ञप्तिमा उल्लेख छ । 

परम्परागत रुपमा भई आएको दैनिक रुपमा आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा लगायत गतिविधिहरु हालका लागि बन्द रहेन छन् । 

डिपार्टमेन्टल स्टोर, मनोरञ्जन स्थल, शैलुन, व्युटिपार्लर, स्पा, स्वीमिगं पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्राहलय, चिया पसल, खाजाघर, होटेल, रेस्टुरा आदि बन्द रहने सुरक्षा समितिले जनाएको छ ।


प्रतिक्रिया