गढीमाई नगरपालिकाका दुई ईन्जिनियर निलम्बित

कार्तिक ८, २०७७ | रौतहट

रौतहटको गढीमाई नगरपालिकाले तीन कर्मचारीलाई कारबाही गरेको छ । आचार संहिता विपरीत सामाजिक सञ्जालमा कार्यालयको अपमान हुने गरी सूचना प्रवाह गरेको भन्दै नगरपालिकाले एक इन्जिनियर र दुई जना सव–इन्जिनियरलाई कारबाही गरेको हो । नगरपालिकाका सिभिल इन्जिनियर दीपेन्द्रकुमार यादव र सिभिल सव–इन्जिनियर पप्पु यादवलाई शुक्रबार साँझ निलम्बन गरेको हो । त्यस्तै, अर्का सिभिल सव–इन्जिनियर कमलेश कुमार पटेललाई स्पष्टीकरण सोधेको नगरपालिकाले छ । उनीहरु विरुद्ध अन्तिम छानबिन र अनुसन्धानको प्रक्रिया पूरा नहुञ्जेलसम्म दुई कर्मचारीलाई निलम्बन गरिएको नगरपालिकाले जनाएको छ । स्पष्टीकरण सोधिएका सव–इन्जिनियर पटेलमाथि सेवाग्राहीसँग आचार संहिता विपरीत व्यवहार गरेको आरोप छ । निलम्बन तथा स्पष्टीकरण सोधिएको कर्मचारीको पत्रमा नगरपालिकालाई बदनाम गराउने भन्ने ब्यहोरा उल्लेख भएपनि उपभोक्ता समितिको विवाद मुख्य कारण भएको स्रोतले जनाएको छ । निलम्बनमा परेका कर्मचारीले भने आफूहरुले कुनै किसिमको आचार सहिचता उल्लंघन नगरेको बताएका छन् ।

गढीमाई–५ मदनपुरमा उपभोक्ता समितिले बाटो ढलानको काम सम्पन्न गरेको एक महिना बितिसक्दा पनि भुक्तानीमा ढिलासुस्ती गरी समितिसित रकम माग गरेको आरोप लगाएको छ । गत असोज २८ गते जनता समाजवादी पार्टीको नगर समितिले नगरपालिकाका तीन कर्मचारीले रकम माग गरेको र नदिए कुनै पनि हालतमा भुक्तानी नदिने धम्की दिएको आरोप लगाउदै ज्ञापनपत्र बझुाएका थिए । ज्ञापन पत्रमा त्यस्ता कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्ने माग गरेको थियो । त्यसपछि नगरपालीकाले हरिकिशोर साह अध्यक्ष, बालकिशोर राय सदस्य सचिव र दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साता लामो अनुसन्धान पछि समितिले दुई जनालाई निलम्बन र एक जनालाई स्पष्टीकरण सोध्नु पर्ने भनेर नगरपालिका समक्ष प्रतिबेदन बुझाएको थियो । छानबिन समितिको सिफारिसको आधारमा कर्मचारी माथि कारबाही गरिएको नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनुभयो । 


प्रतिक्रिया