पहिरोमा पुरिएर पाल्पामा दुईको मृत्यु, ७ घाइते (अपडेट)

असार २४, २०७८ | पाल्पा

पहिरोमा पुरिएर पाल्पाको तिनाउ गाउँपालिका–५ का दुई जनाको मृत्यु भएको छ । तिनाउ–५ हिउँदेखोला नजिकै खसेको पहिरोमा पुरिएर ४५ वर्षीय वीर बहादुर गुरुङ र ४ वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

वीरबहादुरको उनकै घरमै च्यापिएर मृत्यु भएको हो । पहिरोमा बेपत्ता भएका चार वर्षीय बालकको नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी र स्थानीयले खोजी गर्दा विद्यालय परिसरमा माटो र ढुंगामा च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । 

लेदो माटो हटाउन स्काभेटरको प्रयोग गरिएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूलो ढुंगा सहितको पहिरोले घर पुरिँदा सात जना घाइते भएका छन् । पहिरोले दुई घर पुरिएको र तीन घर वटा बगाएको स्थानीय अनिल गुरुङले बताए । 

ढुंगा, माटो सहितको पहिरो खसेपछि ज्यान जोगाउन भाग्ने क्रममा सात जनालाई पहिरोले बगाएर घाइते बनाएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिनुभयो । घाइते सुन्दरी गुरुङ, रमेश परियार, पूजा परियार, बलबहादुर पुन, दिपेश पुन, आकास तामाङ, दिलबहादुर रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, बलबहादुर पुन र रमेश परियारको घर बगाएको छ । 

सम्बन्धित समाचार
* पहिरोमा बेपत्ता बालक अझै फेला परेन, सिद्धार्थ राजमार्ग अवरुद्ध
* पहिरोमा पुरिएर पाल्पामा एकको मृत्यु, ७ घाइते


प्रतिक्रिया