टुहुरा बालबालिकालाई गण्डकी सरकारद्वारा मासिक भत्ता वितरण

कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजारको दरले भत्ता वितरण गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । तस्बिर प्रतीक्षा काफ्ले/रेडियो कान्तिपुर । 

मंसिर ९, २०७८ | कास्की

कोरोना भाइरस महामारीका कारण आफ्ना बाबुआमा गुमाएका टुहुरा बालबालिकालाई गण्डकी प्रदेश सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि लागू हुने गरी पहिलोपटक बिहीबार ६० जना बालबालिकालाई भत्ता वितरण गरेको हो । 

प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आज पोखरामा आयोजना गरेको एक कार्यक्रमबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बालबालिकालाई चेक हस्तान्तरण गर्नुभयो । 

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले टुहुरा बालबालिकाको तथ्याङ्क र निवेदन माग गरेको थियो । सो अनुसार गण्डकी प्रदेशका एघार वटै जिल्लाबाट एक सय ७० जना बालबालिकाको निवेदन परेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । 

‘पहिलो चरणमा ६० जनालाई भत्ता वितरण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले माग गरेअनुसार सबैजनाको कागजात पुगेको छैन । कागजात पुगेकालाई भत्ता दिइहाल्यौँ । बाँकीको पनि प्रकृया पुर्‍याएर भत्ता वितरण गर्छौँ ।’ 

कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाले स्थानीय तह र विद्यालयबाट कागजात पुर्‍याएर मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । बालबालिकाले सो भत्ता नगद र आफूले मात्र पाउँदैनन् । अभिभावक वा संरक्षण र बालबालिकाको संयुक्त चेक दिइने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । मंसिरबाट कार्यक्रम कार्यान्वयन गरिएको भएपनि साउनदेखि नै भत्ता दिइने मन्त्रालयले जनाएको छ । बालबालिकाले सो रकम पठनपाठनमा खर्च गरेको हुनुपर्छ । १८ वर्ष नपुग्ने बेलासम्म भत्ता निरन्तर दिइरहने मन्त्री श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो, ‘मासिक ५ हजार भत्ता बुझ्नेमा एउटै परिवारका ३ जना बालिबालिका पनि छन् ।’ यसैगरी, सरकारले सो कार्यक्रममा नै कोरोनाका कारण मृत्यु भएका परिवारलाई पनि ५० हजार रुपैयााँका दरले सहयोग रकम वितरण गरेको छ ।


प्रतिक्रिया