प्रदेश १ को सबैभन्दा बढी जनघनत्व भएको जिल्ला मोरङमा सबभन्दा कमलाई खोप

माघ ५, २०७८ | मोरङ

प्रदेश १ को १४ वटा जिल्लामध्ये सबभन्दा बढी जनघनत्वका साथै प्रदेशको राजधानीसमेत रहेको मोरङमा सबभन्दा कम जनसंख्यालाई खोप लगाइएको छ । कोरोनाको तेस्रो लहरमा सबभन्दा बढी ४९ दशमलव ३९ प्रतिशत सक्रिय संक्रमित रहेको मोरङमा ४५ दशमलव ७ प्रतिशतलाई मात्रै कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाइएको छ । खोपको दुबै मात्रा बढी लगाइएका जिल्लामा संक्रमितको संख्या न्यून देखिएको हो ।

यस प्रदेशस्थित १४ जिल्लामध्ये सबभन्दा बढी ७७ दशमलव ९ प्रतिशतलाई दुबै मात्रा खोप लगाइएको संखुवासभामा ५ जना मात्रै संक्रमित रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । ६९ दशमलव ८ प्रतिशत खोप लगाइएको ओखलढुंगामा २ जना मात्रै संक्रमित छन् ।

यसअघि पहिलो र दोस्रो भेरिएन्टमा कोरोनाको ‘हटस्पट’ भएको झापामा ६६ दशमलव ७ प्रतिशत खोप लगाइएकाले अहिले प्रदेशभरि रहेको संक्रमितको १४ दशमलव ४७ प्रतिशत अर्थात् ५३८ जना मात्रै सक्रीय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

भारतसँग सीमाना जोडिएको, औद्योगिक क्षेत्र र अन्य जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीहरुको ओहोर दोहोर नियमित भइरहेको मोरङमा बुधबारसम्ममा सक्रीय संक्रमितको संख्य १ हजार ८३७ पुगेको छ । प्रदेशभरिमा कूल सक्रीय संक्रमितको संख्या ३ हजार ७१९ रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

यस प्रदेशको कूल जनसंख्या ४९ लाख ९५ हजार १६२ मध्ये २२ प्रतिशत अर्थात् ११ लाख ८ हजार ६८५ जनसंख्या मोरङमा रहेको छ । प्रदेशभरि १८ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८६६ मध्ये २२ प्रतिशत अर्थात् ७ लाख २७ हजार ८४ जनामध्ये दुबै मात्रा खोप ३ लाख ३२ हजार २४५ जनालाई मात्रै लगाइएको मन्त्रालयले जनाएको छ । मोरङमा बुधबारसम्ममा पहिलो मात्रा खोप ८५ प्रतिशत अर्थात् ६ लाख १७ हजार ७१९ जनालाई लगाइएको छ ।

प्रदेशभरि १२ देखि १७ वर्ष उमेर समूहका खोप लगाउने लक्षित जनसंख्या ४ लाख ६९४ जना रहेकोमध्ये मोरङमा १ लाख २५ हजार १५ जना छन् । जसमध्ये १ हजार ७३ जनालाई मात्रै पहिलो मात्रा खोप लगाइएको छ ।

खोप अभियानलाई तिब्रता दिने उद्देश्यले आइतबार विराटनगर आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एक करोड डोज खोप भण्डारण रहेको र खोपको अभाव नभएको बताउनु भएको थियो । तर खोप अभावमा विराटनगरस्थित खोप केन्द्रहरुबाट खोप लगाउन गएका सर्वसाधारण रित्तै हात फर्किन बाध्य छन् । विराटनगर ४ की ३८ वर्षीया सुनिता रायले कञ्चनबारी खोप केन्द्रमा ४ घण्टा लाइन बसेपछि स्वास्थ्यकर्मीहरुले खोप सकिएको भन्दै फर्काइदिएका थिए ।

यस्तै, सामाजिक विकासमन्त्री जयराम यादवको आफ्नै वडामा पनि खोप लगाउन गएका सर्वसाधारणले खोप अभावमा रित्तै फर्किएको गुनासो पोखे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निदेृशक ज्ञानबहादुर बस्नेतले प्रदेशमा सबभन्दा बढी जनघत्व रहेको मोरङलाई प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेमा त्यसरी व्यवस्थापन गर्न नसकिएकाले यस्तो अवस्था सृजना भएको बताउनुभयो ।

प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र विराटनगरको तथ्यांक अनुसार हालसम्ममा कोभिशिल्ड ७ लाख ४३ हजार ८९० आएकोमध्ये ५ लाख ८५ हजार १९० वितरण गरिएको र १ लाख ८५ हजार ७ सय मौजदात रहेको छ । भेरोसेल २८ लाख ५६ हजार ३४६, अस्ट्राजेनिका ५ लाख ८० हजार ८ सय र मोडर्ना २ लाख ३४ हजार आएकोमध्ये सबै वितरण भइसकेको आपुर्ति केन्द्रका खोप शाखा प्रमुख चन्द्रकान्त ठाकुरले बताउनुभयो । दुई मात्रा लगाउने कूल ४४ लाख १५ हजार ३६ डोज खोप आएकोमध्ये ४२ लाख ५५ ३३६ डोज वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

जोनशन एण्ड जोनशन ५ लाख ८८ हजारमध्ये ४ लाख ६५ हजार ९५० वितरण भएको र १ लाख २२ हजार ५० बाँकी रहेको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले खोप अभाव भएकाले खोप सेवा प्रभावकारी नभएको तर माघ ८ गतेसम्ममा संघीय सरकारले खोप पठाउने तयारी गरेको सूचना आएको बताउनुभयो । 


प्रतिक्रिया