मुलुकको दीर्घ शान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण

चैत्र २१, २०७८ | तनहुँ

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बचाउन मात्र नभई मुलुकको दीर्घ शान्तिको लागि भएको बताउनु भएको छ । तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं तनहुँ महोत्सव समापन गर्दै गृहमन्त्री खाँणले गठबन्धनको उपलब्धी सरकार बचाउनु मात्र नभई संविधानको रक्षाका लागि भएको बताउनु भएको हो ।

 ‘मुख्य त गठबन्धन बचोस्, सरकार बचोस् भन्ने नै हाम्रो चाहान हो’, उहाँले भन्नुभयो, ‘तर गठबन्धनको उपलब्धी भनेको सरकार मात्रै होइन मुलुको दीर्घ शान्ति हो । संविधान बचाउन गठबन्धन गरिएको हो, मुलुकको विकास र शान्तिका लागि हो ।’ गठबन्धनको इतिहास लामो रहेको भन्दै गृहमन्त्री खाँणले हिजो पनि र आज पनि आफू गठबन्धनको पक्षमा रहेको बताउनुभयो ।

‘२०७४ सालको निर्वाचनपछि बनेको गठबन्धनले संविधान नै च्यात्ने हो की ? स्वातन्त्र पत्रकारिता, मानव अधिकारमाथि प्रहार, माइतीघर, टुँडीखेल र रत्नपार्कमा बोल्न नदिने जस्ता निषेधात्मक राजनीति, एकदलीय निरंकुशता जस्तो थोपार्न थाल्यो’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रिक मूल्य मान्यतामाथि प्रहार भइरहेको कारणले संविधानको रक्षा गर्नका लागि लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्न यो गठबन्धन हामीले बनाएको हो र यो स्वाभाविक छ ।’

यस्तै, मन्त्री खाँणले आसन्न स्थानीय निर्वाचनमा सम्भव भएको ठाउँमा गठबन्धन गर्न जिल्ला नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन भन्दा बाहिरा नेपाली कांग्रेस जाँदैन । त्यसैले सम्भव भएको ठाउँमा गठबन्धनबाट जानुहोस् ।’


प्रतिक्रिया