गठबन्धनमा अझै कुरा मिलेन, एमालेको उम्मेद्वारी पनि न्यून

वैशाख ११, २०७९ | सुर्खेत

कर्णालीमा आइतबार साँझसम्म पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा सबैजसो जिल्लामा कांग्रेस, माओवादी र एकिकृत समाजवादीका उम्मेद्वारले मनोनयन दर्ता गराएनन् । एमालेले पनि केही जिल्लामा मात्र उम्मेद्वारको मनोनयन दर्ता गराएको छ ।

बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबार साँझसम्म सुर्खेत र रुकुम पश्चिमको उम्मेद्वारको टुंगो लगाउन सकेको छैन । हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पामा भने भागबन्डा टुंगिएको छ ।

 ‘सुर्खेतको सन्दर्भमा पनि कुराकानी करिब करिब मिलिसकेको छ,’ गठबन्धन दलको बैठकमा सहभागी एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले भन्नुभयो, ‘अब रुकुम पश्चिमको मात्र कुरा मिल्न बाँकी छ ।’ उहाँले विवादको जिम्मा मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएको बताउनुभयो । 

९ स्थानीय तह रहेको सुर्खेतमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६ वटामा प्रमुख र ५ वटामा उपप्रमुख जितेको थियो भने रुकुम पश्चिममा माओवादीको एकलौटी जनाधार छ । एउटा पनि पालिका नजितेको कांग्रेसले रुकुममा र माओवादीले सुर्खेतमा भाग माग्दा गठबन्धनमा कुरा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

सल्यानमा ४ जनाले मात्र उम्मेद्वारी दिएका छन् । आइतबार स्वतन्त्रसहित नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीका १/१ जनाले मात्र सल्यानमा उम्मेद्वारी दिए । बाग्चौर नगरपालिकामा प्रमुखका लागि समाजवादीका चित्रबहादुर डाँगी, छत्रेस्वरीमा अध्यक्षका स्वतन्त्रबाट लोकमान खत्री, राप्रपाका मोतिलाल ओली र दार्माको अध्यक्षमा माओवादी केन्द्रका नीमबहादुर केसीले मात्र उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कालीकोटमा एमालेले ६ वटा स्थानीय तह प्रमुखमा उम्मेद्वारी दर्ता गरेको छ । सत्ता गठबन्धनले पालिका भाडबण्डा सकेर सोमबार उम्मेद्वारी दर्ता गर्ने जनाएको छ । एमालेले खाडाचक्रको प्रमुखमा निवर्तमान नगर प्रमुख जसीप्रसाद पाण्डेलाई दोहोर्‍याएको छ भने अन्य पालिकामा नयाँ अनुहारलाई उम्मेद्वार बनाएको छ । 

सान्नीत्रिवेणीमा ब्यासी तिरुवा, नरहरिनाथमा टेकबहादुर बुढा र शुभकालिकामा भरतराज धितालले एमालेबाट अध्यक्षमा उम्मेद्वारी दिएका छन् । रास्कोटमा दयाराम सिम्खडा र तिलागुफामा महेन्द्रबहादुर शाहीले प्रमुखका लागि मनोनयन दर्ता गरेका छन् । एमाले जिल्ला इन्चार्ज नगिन्द्र शाहीले पचालझरना, पलाता र महाबैमा एमालेले उम्मेद्वारी दर्ता नगराएको बताउनुभयो ।

 गठबन्धनको निर्णय नआउँदै तिलागुफामा भने कांग्रेस नेता शंकरप्रसाद उपाध्यायले उम्मेद्वारी दर्ता गराउनुभएको छ । जाजरकोटमा १ जनाको मात्र उम्मेद्वारी परेको छ । सत्ता गठबन्धनले नलगाड नगरपालिकामा माओवादीलाई टुंगो लगाए पनि नेकपा समाजवादीका सत्यलाल गौतमले प्रमुखमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।   


प्रतिक्रिया