स्याङ्जा २ मा पुन: मतदानको माग

मंसिर ५, २०७९ | स्याङ्जा

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत स्वतन्त्र उम्मेदवारले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा पुन: मतदानको माग गरेका छन् । नेपाली कांग्रेसले यस क्षेत्रका विभिन्न स्थानमा रहेका बुथ कव्जा गरी एकलौटी तरिकारले मतदान गरेको भन्दै जनताले स्वंम मतदान गर्नुपर्ने मागसहित पुन: मतदानको माग गरेका हुन् । 

सोमबार वालिङमा संयुक्त पत्रकार सम्मेलन गर्दै एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले पुन: मतदान नहुदाँसम्म मत गणना अघि नबढ्ने बताउनुभयो । ९८.०९ प्रतिशत मत खसेका बुथमा पुन: मतदान गर्नुपर्ने माग उहाँको छ । 

‘पार्टी पक्षको लडाईँ होइन’, अर्यालले भन्नुभयो, ‘भयरहित र धाँधलीरहित मतदान हुनुपर्छ भन्ने माग हाम्रो हो । हामी व्यक्ति लक्षित जादैनौँ । कानून, विधि र नियमलाई स्थापित गर्न चाहान्छौँ ।’ 

अर्यालले मत हाल्न जनता मतदानस्थलमा पुग्दा उसको नाममा पहिले नै मतदान भइसकेको पाइएको भन्दै लोकतन्त्रमा पनि जनताले स्वंम मताधिकारबाट वञ्चित हुनु परेको बताउनुभयो । 

सत्ता र शक्तिको प्रयोग गर्दै निर्वाचनमा बुथ कव्जा गर्ने र मतदान गर्ने भन्दै अर्यालले यस क्षेत्रका जनताले चाहेर पनि आफ्नो मत प्रयोग गर्न नपाएको उल्लेख गर्नुभयो । ‘अशक्तको मत राख्न कानूनले नै व्यवस्था गरेको छ’, उहाँले भन्नुभयो, ‘जनतालाई धम्काएर र लुटेर सशक्तको मत हाल्ने काम भयो । हामी प्रमाणसहित बोलेका छौ ।’

पार्टी कार्यकताले मतपत्रमा हानेको छापको विश्वास नगर्ने र सम्बन्धित मतदाताले हालेको छापको आधारमा मात्रै मतगणना गर्ने उहाँले जानकारी दिनुभयो । यस विषयमा निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराएको उहाँको भनाई छ ।


प्रतिक्रिया