प्रधानमन्त्री दाहालको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुन्छ : परराष्ट्र मन्त्रालय

जेष्ठ १६, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्न प्रयास हुने बताउनुभयो । भ्रमणमा मुख्यगरी सीमा नाका व्यवस्थापन र आयोजनालाई प्राथमिकता दिने मन्त्री साउदको भनाई छ ।

परराष्ट्रमन्त्री साउदले विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने, भारत र बांग्लादेशसँग पनि विद्युत व्यापार गर्ने आधार बनाउने भ्रमणको तयारी छ । त्यस्तै नेपालमा उत्पादित विद्युत बिक्रीको सुनिश्चितताको प्रयास हुने उहाँले बताउनुभयो । भ्रमणमा नेपालमा विद्युत क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि, बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास हुनेछ । प्रधानमन्त्री दाहाल भोलि ४ दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ ।  


प्रतिक्रिया